
पढाइरहेको वेला एक विद्यार्थीले पिसाब फेर्न शौचालय जान्छु भनेपछि गण्डकी एकेडेमीका शिक्षकले निर्घात कुटपिट गरेका छन् । ती शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नदिएर शरीरमा नीलडाम हुने गरी कुटपिट गरेका छन् । पोखरा महानगरपालिका– ६ जहरेवरस्थित गण्डकी एकेडेमीका गणित शिक्षक विपिन कार्कीले ६ कक्षामा अध्ययनरत एक छात्रलाई गत मंगलबार कुटपिट गरेका हुन् ।
घटना ६ फागुनको भए पनि आइतबार मात्रै सार्वजनिक भएको हो । घटनापछि विद्यालयले शिक्षक कार्कीलाई बर्खास्त गरेको जनाएको छ । घटनालगत्तै प्रहरीले विद्यार्थी कुट्ने शिक्षक कार्कीलाई नियन्त्रण लिएको थियो । तर, अभिभावकले लिखित उजुरी नदिएपछि तीन दिनपछि छाडेको छ । वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले घटनालगत्तै विद्यालयमै गएर शिक्षकलाई नियन्त्रणमा लिएको र भोलिपल्ट सार्वजनिक बिदा भएका कारण थुनुवा पुर्जी दिएर हिरासतमा राखेको बताए । अभिभावकलाई बोलाएर उजुरी दिन आग्रह गरे पनि उजुरी नदिएको उनले बताए । डिएसपी निरौलाले भने, ‘अभिभावकसँग उजुरी दिन पटक–पटक अनुरोध गर्यौँ, तर उजुरी दिन नमानेपछि तेस्रो दिन अभिभावकको जिम्मा लगाएर शिक्षकलाई छाड्न बाध्य भयौँ ।’
विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले घटनापछि अभिभावक र विद्यालयबिच कुरा मिलिसकेको बताए । पौडेलले भने, ‘विद्यार्थीको उपचारमा लागेको सबै खर्च विद्यालयले व्यहोरेको छ । विद्यालय र पीडित विद्यार्थीका अभिभावकबिचको सम्बन्ध एकदम राम्रो छ । सबै कुरा मिलिसक्यो, अब केही समस्या छैन ।’ घटनापछि अभिभावकले शिक्षकविरुद्ध विद्यालयमा उजुरी दिए पनि विद्यालयको दबाबका कारण प्रहरीमा उजुरी नदिएको स्रोतको भनाइ छ ।