
अछामको साँफेबगर नगरपालिका– ११, चुचीगाउँमा परम्परागत घरसहितको बाक्लो बस्ती छ । तर, आधाभन्दा बढी घरमा ताला झुन्डिएको छ । ताला नलागेका घरमा पनि वृद्धवृद्धा र बालबालिका मात्र छन् । मलामी जाने मान्छे पाउन पनि मुस्किल हुन थालेको छ । चुचीगाउँ मात्र होइन, सोही वडाको डाँडागाउँ र गैरागाउँ पनि खाली हुन थालेका छन् । धेरै परिवार रोजगारीका लागि भारततिर लागेका छन् भने केही बसाइँ सरेर तराई झरेका छन् ।
डाँडागाउँका टेकबहादुर खड्का श्रीमती र तीन छोरासहित मुम्बईमा छन् । उनको घरमा चार वर्षदेखि ताला लागेको छ । १४ वर्षीय छोरा र १० वर्षीय छोरी भने गाउँमै आफन्तका घरमा बसिरहेका छन् ।
डाँडागाउँकै डबल खड्काको घरमा सात वर्षदेखि ताला लागेको छ । उनी पनि परिवारसहित मुम्बईमा रहेको स्थानीय चम्फा कुँवर खड्काले बताइन् ।
गैरागाउँकी ४० वर्षीय चन्द्रा खड्काले गैरागाउँका अधिकांश गाउँ छोडेर भारतमा रहेको बताइन् । उनका श्रीमान् एकिन्द खड्का गाउँमै रहेको हंसवाहिनी माविमा कार्यालय सहयोगी छन् । ‘त्यही भएर हामी गाउँमै छौँ,’ उनले भनिन् ।
गैराकी ६५ वर्षीया धौलीदेवी खड्काका दुई छोरा, बुहारी र छोराछोरीसहित बम्बईमा छन् । उनी घरमा एक्लै छिन् । ‘गाउँमा कोही छैनन्, बाइगए (गइसके),’ उनले भनिन्, ‘गाउँमा काम छैन, पैसा कमाउन गए । हामी जान नसक्ने मात्र छौँ ।’
गैराकी ८० वर्षीया मिश्रादेवी खड्काले मान्छे नहुँदा गाउँ रित्तो र जग्गा बाँझो रहेको दुःखेसो पोखिन् । ‘बुढाबुढी मात्र छौँ, छोरा काशीराम पनि बम्बईमा बेपत्ता भएको २५ वर्ष भइसक्यो । अत्तोपत्तोे छैन,’ उनले भनिन्, ‘उमेरले डाँडो काटिसक्यो, काजकिरिया गर्ने मान्छे पनि हुन्छन् कि हुँदैनन्,’ उनले बिलौना गरिन् ।
चुची घर भई डाँडागाउँमा रहेको हंसवाहिनी माध्यमिक विद्यालयका निमित्त प्रअ टीकाराम धामीका अनुसार चुचीगाउँमा ६० घर रहे पनि १९ परिवार मात्र बस्छन् । त्यसमा पनि युवाहरू रोजगारीका लागि भारत, अन्य देश र सहर गएकाले वृद्धवृद्धा र बालबालिका मात्र रहेको उनी बताउँछन् ।
वडा नम्बर ११ को सर्वेक्षणअनुसार वडामा ३६५ घर रहे पनि २७० घरमा ताला लागेको छ, गाउँबाट पलायन भइसकेका छन् । हरेक वर्ष ५० देखि ६० घरका बासिन्दा गाउँ छोडेर जाने गरेको वडाध्यक्ष रामबहादुर बोहराले बताए । ‘यहाँका धेरैजसो परिवारसहित भारतमा छन् । गाउँमा काम पनि नपाइने, खेतीपातीले खान पनि नपुग्ने भएपछि उतै (भारतमा) काम गर्छन्, गाउँमा घरमा ताला लागेको छ,’ वडाध्यक्ष बोहराले भने, ‘त्यसबाहेक बसाइँ सरेर कैलाली, कञ्चनपुर जाने पनि बढेका छन् । छोराछोरी पढाउनकै लागि भए पनि सहर जान्छन् ।’
नजिकैको खप्तड राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले नष्ट गर्न थालेपछि किसानले बालीनाली पनि लगाउन छाडेका छन् ।
साँफेबगर नगरपालिकाको जनसंख्या १० वर्षमा ३५ हजारबाट घटेर २५ हजार ६०० मा झरेको छ । २५ हजार ६००मध्ये नेपालबाहिर बस्नेको संख्या चार हजार ५१ छ । गाउँभन्दा बाहिर अन्यत्रको संख्या ६ हजार ७२ छ ।
मेयर राजेन्द्रबहादुर कुँवरले गाउँबाट पलायन भएकालाई पुनः घर फर्काउने गरी योजना बनाउने बताए । ‘गाउँमा रहेकालाई आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने निर्णय भइसकेको छ, त्यसपछि घर फर्काउने योजना ल्याउँछौँ,’ उनले भने ।
मलामी जाने पनि भेटिन छाडे
साँफेबगर नगरपालिका–११ चुचीगाउँमा दाहसंस्कारका लागि शव बोकेर पैदल नै घाट जाने परम्परा छ । ५५ वर्षीय जयबहादुर सार्कीको १८ माघमा उच्च रक्तचापले ज्यान गएपछि साँफेबगर बजारबाट ट्याक्टर ल्याएर बुढीगंगा नदीमा दाहसंस्कार गरियो । गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र हुँदा मलामी जाने मान्छे निकै कम भएपछि ट्याक्टर मगाउनुपरेको थियो । उनको दाहसंस्कारमा गाउँका बालबालिका र वृद्धवृद्धासहित आठजना, छिमेकी गैरागाउँबाट तीन र काँढाबाट दुई गरी १३ जना मलामी गएका थिए । ‘शव बोकेर लैजान गाउँमा मान्छे छैनन्, घाट टाढा (पाँच घन्टा पैदलमा)छ, त्यही भएर अचेल ट्याक्टरबाट शव बोक्न थालिएको छ,’ हंसवाहिनी माध्यमिक विद्यालयका निमित्त प्रअ टीकाराम धामीले भने ।
विद्यालयमा पनि घटे विद्यार्थी
तीन गाउँ रहेको साँफेबगर नगरपालिका–११ मा एउटा मावि र दुईवटा आधारभूत गरी तीन सामुदायिक विद्यालय छन् । तर, गाउँ छोडेर जानेको संख्या बढ्दै जाँदा विद्यालयमा पनि असर परेको छ ।
हंसवाहिनी माविमा एक वर्षमा २६ जनाले कक्षा छाडे । ०८० मा २६२ विद्यार्थी भर्ना भएकामा २३६ ले मात्र परीक्षा थिए । शैक्षिक सत्र ०८१ मा मात्र १९ विद्यार्थी गाउँ छोडेर अन्यत्र पलायन भएको निमित्त प्रअ टीकाराम धामीले बताए ।
प्रअ धामीका अनुसार गाउँमा रोजगारी नहुँदा परिवारसहित नै भारत जाने गरिएको छ, जसका कारण विद्यालयमा विद्यार्थी पनि घट्दै गएका छन् ।