
नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु. ५२ करोड ४७ लाख ६ हजार ८७९ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए ।
सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजारभन्दा बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो ।
त्यसपछि भन्सार छलीका मालसामान बरामदबाट रु. १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसैगरी, ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख, अवैध सुनचाँदी बरामदबाट एक करोड, हुन्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए।
उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु. १५ लाख ७१ हजार राजस्व संकलन भएको छ ।