मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १३ मंगलबार १३:२२:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दुईदिने ‘काठमाडौं उत्सव’को पहिलो संस्करण फागुन १६ देखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १३:२२:oo

नेपालमा आयोजना हुने विभिन्न कला, साहित्य उत्सवहरूमा अर्को एउटा उत्सव थपिएको छ, ‘काठमाडौं उत्सव’। काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।

साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताए।

दुई दिनसम्म चल्ने काठमाडौं उत्सवमा जम्मा १५ वटा सत्रहरू रहनेछन्। काठमाडौं उत्सवका संयोजक तथा कवि-गजलकार बाबु त्रिपाठीका अनुसार महोत्सव आठजना स्थापित कविहरूको कवितावाचनबाट उद्घाटन हुनेछ । उद्घाटन क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नेछन्।

त्यसपछिका कार्यक्रमहरू काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्नेछ। अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संघर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको प्रमुख आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तर्संवाद गर्नेछिन्।

त्यसैगरी उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबिच अक्षरका आयामहरू शीर्षकमा विशेष कुराकानी हुनेछ।

पत्रकार राजेन्द्र बानियाँको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षहरूबारे छलफल हुनेछ।

ज्ञान विवेक र विज्ञान विषयमा हुने अर्को सत्र पनि पहिलो दिनको आकर्षणका रूपमा रहेको छ जसलाई  लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्।

विभिन्न उमेर समूहका पुस्तकप्रेमीबिच लोकप्रिय बुकाहोलिक्स समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरूसँग सानो संसार, ठुलो संसार शीर्षकमा भलाकुसारी गर्नेछिन्।

कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकताजस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। भुइँका कुरा एउटा यस्तै सत्र हो जसमा दशकौँदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभव सुन्न पाइनेछ। महोत्सवका सल्लाहकार दीप दर्पणले भने, ‘काठमाडौं उत्सवलाई नियमित रूपमा हुने साहित्यिक महोत्सवभन्दा भिन्न बनाउन हामीले विज्ञका मात्र नभई किनारामा पारिएका भुइँमान्छेका विचारहरूलाई पनि विशेष प्राथमिकता दिएका छौँ ।’ भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नेछिन्।

काठमाडौं उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यमा डायस्पोराको अवस्था विषयमा विद्वत् प्रवचन दिनेछन्। साहित्य, कला र संगीतका तीनवटै राष्ट्रिय प्रतिष्ठानहरू सहयोगी संस्थाका रूपमा रहेको काठमाडौं उत्सवमा कला र चलचित्रका विषय छुट्ने कुरै भएन।

चलचित्र निर्देशनमा नयाँ पुस्ता शीर्षकमा चल्ने सत्र दोस्रो दिनको अर्को आकर्षण हो जसमा निर्देशकत्रय सुजित बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले लेखक प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्नेछन्। दोस्रो दिन नै फाइन आर्टसको सेरोफेरो कलाकारहरू एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझाबिच छलफल हुनेछ। कला एक फ्युजन शीर्षकमा हुने यो सत्र कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्नेछन्।