गुल्मीमै पहिलोपटक छत्रकोट गाउँपालिकाले साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएको छ । शुक्रबार जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीसहितका पालिका प्रमुखहरूले संयुक्त रूपमा छत्रकोट गाउँपालिका– ३ का दुई महत्त्वपूर्ण धार्मिक स्थल छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरेर एक हजार ८० मिटर लामो जिपलाइनको उद्घाटन गरे ।
गाउँपालिकाले नीति कार्यक्रममा ‘रुरु रेसुंगाको धार्मिक आस, छत्रकोटमा बसौँ वास’ भन्ने पर्यटन विकासका योजनाहरू समावेश गरेको छ । सोही अभियानअन्तर्गत महत्त्वपूर्ण धार्मिक स्थलमा युवाहरूले अत्यन्तै रुचाएको पर्यटकीय संरचना अर्थात् जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनले कृषि र ग्रामीण पर्यटनविना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए । उनले सार्वजनिक पर्यटकीय संरचनाहरू सबैको सम्पत्ति भएकाले साझा रूपमा विकास गर्न जिल्लाका सबै पालिका र छिमेकी जिल्लाका पालिका प्रमुखहरूलाई समेत खबर गरिएको बताए ।
जिपलाइनमा प्रतिसेकेन्ड १५ देखि २० मिटर दूरी पार गरिन्छ । जिपलाइनको यात्रा ५५ देखि ७७ सेकेन्ड रहेको छ । छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीका अनुसार प्रदेश र आफूहरूको समपूरक बजेटबाट ८६ लाख ७३ हजार १४४ मा सानु सेतीदेवी कन्स्ट्रक्सन प्रालिले जिपलाइन निर्माण गरेको हो । अहिले पालिकाभित्रका नागरिकलाई नगद चार सय, विद्यार्थीका लागि नगद तीन सय र पालिकाबाहिरका नागरिकलाई पाँच सय तथा विदेशी नागरिकका लागि एक हजार पाँच सय शुल्क तोकिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए ।
जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि नगद रु. १० लाखको जोखिम बिमा गरिएको छ । दिगो रूपमा जिपलाइन सञ्चालन गर्न निजी क्षेत्रलाई प्रदान गरिने गाउँपालिकाले जनाएको छ । मदन भण्डारी राजमार्गको नजिक र ऐतिहासिक तथा धार्मिक क्षेत्र छत्र देवालय भएकाले जिपलाइन निकै राम्रो हुने र स्थानीयको समेत आर्यआर्जनमा टेवा पुग्ने स्थानीय भुवन भुसालले बताए । उनले अहिले निर्माण भएको जिपलाइनले स्थानीयमा नयाँ पर्यटकीय विकासको सञ्चार गरेकाले सबैको सहयोगमा अगाडि बढाउनुपर्ने बताए । तर, गाउँमा युवाहरूको संख्या अत्यन्तै न्यून छ । पैसा र साहस हुनेहरूका लागि मात्रै जिपलाइन फलदायी हुने भएकाले दीर्घकालीन सञ्चालनमा स्थानीयहरूमै शंकाहरू छन् ।
स्थानीय तहहरूले संरचना निर्माणमा मात्रै जोड दिने र दीर्घकालीन व्यवस्थित सञ्चालनको योजना नहुँदा कैयन लगानी डुबेका छन् । त्यसैले झन्डै करोड खर्चेर निर्माण गरिएको संरचना र तामझाम उपलब्धिमूलक नहुनेमा छत्रकोट गाउँपालिका– २ का नितेश केसीले शंका व्यक्त गरे । ‘उद्घाटनको तामझाम जस्तै भोलि हुँदैन । वन र सञ्चालनका समस्या उस्तै छन्,’ उनले भने, ‘राज्यको लगानी बालुवामा पानी हुने निश्चित छ ।’