हिमाली क्षेत्रका बासिन्दालाई चौँरी तथा गाई चरनको समस्या टड्कारो देखिएको छ । चरनको समस्याले चाैँरीगाई पाल्न गाह्रो भएको छ । ०७७ सालमा कोरोना भएर बन्द रहेको तिप्ताला नाकाबाट अहिले पनि चौँरी तिब्बतमा बिक्री गर्न प्रतिबन्ध छ । ०७७ सालअगाडि २० देखि ५० सम्म चौँरी हुने चौँरीपालक कृषकसँग अहिले ७० देखि ३५० सम्म चौँरी रहेका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा चौँरी एकै किसानका पाँचदेखि आठ गुनासम्म बढेपछि चौँरीलाई चरनको समस्या भएको छ ।
एकातिर चौँरीको संख्या बढेर थामिनसक्नुभएको छ भने अर्कातिर मंसिर लाग्न नपाउँदै आकाशबाट वर्षिएको हिउँले चरनलाई ढाकिदिनाले पनि समस्या आउने गरेको छ । तर, वास्तवमा चौँरीको संख्या बढेका कारण चरनको समस्या भएको हो ।
अहिले उत्तरी नाकाहरू खुला भएका छन् । चौँरीको संख्या धेरै बढेको छ । तर, तिब्बत लगेर बेच्न पाएको छैन । ताप्लेजुङको टिप्ताला नाका खुलेको पनि एक वर्ष हुन लागेको छ । तर, तिब्बत लगेर बिक्री गरिने चौँरी तिब्बतले नाका अन्य सामग्री तथा मान्छे आवतजावत गर्न खुलाए पनि चौपायाका लागि नखुलाएका कारण बिक्री गर्न नपाएका कारण अत्यधिक बढेका हुन् । एउटा याक १२ वर्षसम्म बिक्री गर्न योग्य उमेरको हुन्छ । सामान्यतया १५ देखि २० वर्षसम्म बाँच्ने याक–चौँरी त्यसपछि दुब्ला–बुढो हुन थाल्छ । त्यसपछि भने तिनको बिक्री नै हुँदैन । अहिले सबै गाउँमा सडक पुगेपछि चौँरीलाई भारी बोक्ने काम पनि लगाउन छाडिएको छ । पहिला भारी पनि बोकाउने चलन थियो, तर अहिले पालन मात्रै हुँदा समस्या भएको छ ।
उत्तरी क्षेत्र फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगाेला, याङमा, घुन्स सिरिजंघा गाउँपालिकाको याम्फुदिन सिदिङवा गाउँपालिकाको कालीखोला, मिक्वाखोला गाउँपालिकाको तोक्पेगोलालगायतका क्षेत्रमा रहेका करिब दुई सय किसान परिवारको साझा समस्या भएको छ । याक–चौँरी कृषक महासंघ ताप्लेजुङले यी परिवारले कम्तीमा पाँच–दस वटादेखि बढीमा ३५० सम्म चौँरी याक पाल्ने गरेको बताएको छ ।
तिब्बतले चौपाया लान बन्द गरेपछि चौँरी त्यसै मर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वामा मंसिर २९ गएको ताप्लेजुङ र डिङ्जे काउन्टीका प्रमुख नेतृत्वको सीमा बैठक भएको थियो । बैठकमा आफूले एजेन्डाकै रूपमा कृषि उपज आयात–निर्यातको विषय उठाएको, तर चीनले तत्काल चौपायातर्फको समस्या समाधान गर्ने संकेत नगरेको प्रजिअ शर्माले जाकारी दिए । प्रजिअ शर्माले पशु–चौपायाका विषयमा केन्द्रको निर्णय हुनुपर्ने र माथिल्लो निकायमा अनुरोध गर्ने जानकारी उनीहरूले दिएको बताए ।
हिमाली क्षेत्रका चौँरीपालक कृषकले मसिना बाच्छा तिब्बतबाटै ल्याएर पाल्ने र वयस्क भएपछि उतै बिक्री गर्ने प्रचलन पनि थियो । कोरोनाभन्दा अगाडि सबै खुला थियो अहिले बन्द गर्नुको कारणसमेत नखुलाएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
विशेष जोड दिएर प्रस्ताव गर्दा पनि चीनले नमानेको दोभासेको रूपमा चीन गएर फर्किएका फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले जनाए । हरेक किसानका गोठमा थेग्न नसक्ने गरी याक–चौँरी बढेको र चरनको समेत अभाव हुन थालेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भनेर छुट्याउने गरिएको छ । ताप्लेजुङमा करिब साढे आठ हजार हाराहारीमा याक–चौँरी रहेको जिल्ला पशुसेवा कार्यालयको भनाइ रहेको छ । एउटा याक–चौँरीको मूल्य ५० हजार मात्रै राखे पनि ताप्लेजुङमा ४० करोडबराबरका चौँरी–याक रहेको महासंघले जनाएको छ । त्यसमा झन्डै ६० प्रतिशत बिक्री गर्न सकिने किसिमको भएको महासंघले बताएको छ ।