रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा इन्कारी बयान दिएका छन् । जिल्ला अदालत कास्कीमा बिहीबारदेखि सुरु भएको बयानमा लामिछानेले आफूले सूर्यदर्शन सहकारी देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र सेयर पनि नभएको जवाफ दिएका थिए । बयान शुक्रबार पनि हुनेछ ।
लामिछानेसँग २६ मध्ये ११ प्रश्न सोधिएको छ । बिहीबार सोधिएका अधिकांश प्रश्न यसअघि लामिछानेले प्रहरीलाई दिएको बयानको सेरोफेरोमा छन् । प्रश्न सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित थिए ।
न्यायाधीश नीतिज राईको प्रश्नको जवाफमा रविले सहकारीको रकम ठगी र अपचलनमा आफू कहीँकतै सहभागी नभएको बताए । गोर्खा मिडियामा आर्थिक कारोबार गर्ने अधिकार सबै अध्यक्ष जिबी राईको रहेको र उनकै निर्देशनमा कारोबार भएको रविको भनाइ थियो । त्यस्तै, उनले सञ्चारकर्मीका रूपमा काम गर्ने गरी आफू गोर्खा मिडियामा जोडिएको र कुनै पनि रकम लगानी नगर्ने गरी १५ प्रतिशत सेयर लिएको बताए ।
राजनीतिमा आउँदा सहकारीपीडितको समस्या समाधानका लागि आवाज उठाएको र गृहमन्त्री हुँदा जिबीलाई पक्रन कोसिस गरेको पनि रविले न्यायाधीशसमक्ष बताएका थिए । लामिछानेको बयानअघि अदालतले गोर्खा मिडियाका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल जोशी र लीला पछाईको बयान लिइसकेको छ ।
पाोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले ७ पुसमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाएको थियो । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ । त्यस्तै, जोशीलाई ७४ करोड ३४ लाख र पछाईलाई २४ करोड ६७ लाख बिगो दाबी गरिएको छ । यसअघि १८ असोज ०८० मा सहकारीका अध्यक्ष जिबी राईसँगै १९ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको थियो । तर, उनीसहित १९ विरुद्ध ५ पुसमा पूरक मुद्दा चलेको थियो ।