पुसको सिरेठोबिच घाम झुल्किदै थियो । गाउँमा ठूलै कार्यक्रम भएकाले छत्र देवालय मन्दिर परिसर एकाविहानै मान्छेले खचाखच भरिएको थियो । कार्यक्रमका सहभागीलाई स्वागत गर्न नौमति बाजाको समेत व्यवस्था गरिएको थियो । नौमति बाजा बजाउनेको टोलीमा ७० वर्षीय धनबहादुर दमै पनि थिए ।
उमेरले पाको, झुप्प सेतो दारी । समुहमा उनको अलग्गै पहिचान छ । उनले समूहमा सनइ फुक्न थाले । घामको तापमा सनाइँको रापले मान्छे उनीतिरै खनिए । चिसोले उमेरकै मान्छेका समेत औला कठ्ङग्रिएका थिए तर धनबहादुरका औलाले सनइका प्वाल बिराउँथेनन् ।
नौमती बाजामध्येको अप्ठयारो बाजा हो सनइ । जसलाई धनबहादुरले उमेरमा सजिलै फुक्थे । ११ वर्षदेखि बाउबाजेसँग सनइ फुक्न थालेका धनबहादुरले बैंसमा दिनरात सनाइँ फुक्थे । ‘२४ घण्टा सनइ फुक्दा अप्ठयाराे भएन । जे गर्न पनि बैस/उमेर चाहिने रहेछ,’ उनले भने, ‘अहिले रहर मात्रै हो सास पुग्दैन, विकल्पमा कोही छैनन् ।’
छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका ७० वर्षीय धनबहादुर दमैका चार छोरा र तीन छोरी छन् । उनले गाउँमा विवाह, व्रतबन्ध र शुभकार्यमा अहिले नि सनाइँ बजाउँदै आएका छन् । यसबाहेक घरमै लुगा सिलाएर जीविकोपार्जन गरिरहेका छन् । केहि समय अघिसम्म अन्नबालीमा वर्षभरी कपडा सिलाउन पथ्र्यो । तर, अहिले धेरैजनाले नगदमै सिलाउने गरी कपडा लिएर आउने गरेको उनी सुनाउँछन् । बजारीय फेन्सी कपडा र अधुनिक प्रविधिका कारण आफ्नो पेशा मार परेको धनबहादुर गुनासो गर्छन् । गाउँमा बाजा बजाउने तथा सिलाइ गर्नेहरू विस्थापित हुँदै गएका छन् ।
वर्षैभर बाजा बजाएर मात्रै जिविकोपार्जन नहुने भएपछि दलित समुदायका युवा अन्य पेसामा लाग्न थालेका छन् । इस्मा गाउँपालिका–४ का युवा लक्ष्मण परियार गुल्मी पश्चिममा अब्बल सनइ बाधक हुन् । उनी नियमित रुपमा सनाइँ बनाउँछन् । गाउँमै बाजा बजाउने व्यावसायिक समूह थियो । समयसँगै बाजा र मान्छे हराए । उनले भने स्थानीय सरकारबाट बाजा जोगाएर बल्लतल्ल समूह बनाएका छन् । तर, बाजा बजाएर मात्रै ज्यान पाल्न नसक्ने भएपछि टिकाउन चुनौति रहेको परियारले बताए । ‘महिनामा दुई÷तीन पटक बजाउन हिडेर पुग्दैन । सबैले साउण्ड सिस्टम रुचाउन थाले,’ उनले भने,‘सबैलाई परदेशमोह भएकाले रोक्न सकिदैन् ।’
स्थानीय सरकारले गाउँका नौमती बाजा संरक्षणको लागि पहल गरिरहेको छ । तर, उनीहरूको व्यावसायिकता जोगाउने योजना छैनन् । छत्रकोट गाउँपालिका–३ का वडाध्यक्ष तेजनारायण अर्यालले वस्तीस्तरबाटै योजना छनौट गर्दा मागको आधारमा बाजा, पोशाक र सीपमा स्थानीय सरकारले सहयोग गरिरहेको बताए ।