गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न भारतीय सहयोग अपरिहार्य रहेको हवाईविज्ञहरूले बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी ट्रेड युनियनले काठमाडौंमा आयोजना गरेको ‘एभिएसन मिट–२०२४’ मा सहभागी वक्ताहरूले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि भारतसँग परिरपक्व कूटनीतिक पहल गरिनुपर्नेमा जोड दिएका हुन् । यी विमानस्थल सञ्चालनका लागि भारतसँग परिपक्व कूटनीतिक पहल हुनुपर्ने क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए ।
भारतले मान्यता नदिँदासम्म दुईवटै विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न कठिन रहेको उनीहरूको जिकिर छ । भारतले यी विमानस्थलमा उडान अनुमति दिन आनाकानी गर्दै आइरहेको छ । भैरहवा विमानस्थलमा जडित इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्न भारतले अनुमति दिएको छैन । त्यस्तै, चिनियाँ ऋण लगानीमा बनाइएको पोखरा विमानस्थललाई भारतले चीनको बिआरआई प्रोजेक्ट भन्दै उडान अनुमति दिएको छैन । तर, सरकारले पोखरा एयरपोर्ट बिआरआई प्रोजेक्ट नभएको स्पष्ट पारेको छ । कार्यक्रममा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पनि पोखरा विमानस्थल बिआरआई प्रोजेक्ट नभएको बताए ।
पोखरा विमानस्थल एयरबस ३१९, एयरबस ३२०, बोइङ ७३७ विमान उडाउने गरी निर्माण गरिएको हो । बिहीबार सिचुवान एयरलाइन्सले भरिभराउ यात्रुसहित पोखरा–काठमाडौं प्रवर्द्धनात्मक उडान गरेर पुष्टि गरेको छ । भैरहवामा न्यारोबडी र वाइडबडी जहाज उडान भइसकेका छन् । दुवै विमानस्थल व्यावसायिक उडानका लागि टेक्निकल रूपमा फिट देखिएका छन् । क्यानका पूर्वमहानिर्देशक गौतम भैरहवा र पोखरा विमानस्थल रुटका कारण नचलेको भाष्य स्वीकार गर्न तयार छैनन् ।
पोखरा विमानस्थलमा आइएफआर उडान गर्न ३८ सय मिटर भिजिबिलिटी आवश्यक छ । अहिले मौसमका कारण अन्तरिक उडानमा समेत समस्या परिरहेको बस्नेतले बताए । आफूहरूले गराएको अध्ययनमा विदेशी विज्ञले एनआरपी–एआर प्रविधि जडान गरेमा दुई हजार मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने रिपोर्ट दिएको भनाइ थियो । भैरहवा विमानस्थलमा १० माघदेखि आरएनपी–एआर सञ्चालनको तयारी रहेको क्यानका उपमहानिर्देशक एवं प्रवक्ता हंशराज पाण्डेले बताए ।