विश्व खेलकै प्रमुख प्रतियोगिता मानिने ग्रीष्मकालीन ओलम्पिक यसै वर्ष भयो । सन् २०२४ मै फ्रान्सले पेरिस ओलम्पिक सफलतापूर्वक आयोजना गर्यो । यसपटक पनि अमेरिका र चीनबिच सर्वाधिक स्वर्ण जित्ने होडबाजी चल्यो । अमेरिकाले वेस्ट इन्डिजसँग मिलेर पहिलोपटक आइसिसी टी–२० विश्वकप आयोजना गर्यो । टेनिसका दिग्गज राफेल नाडालले पनि यसै वर्ष सन्न्यास लिनु र बक्सिङका पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन १९ वर्षपछि रिङमा फर्किनुले पनि यो वर्ष अन्तर्राष्ट्रिय खेलकुदमा चर्चा कमायो ।
ओलम्पिक
आतंककारीहरूको धम्कीका बाबजुद फ्रान्सले सफलतापूर्वक ३३औँ संस्करणको पेरिस ओलम्पिक आयोजना गर्न सफल भयो । फ्रान्सले नौलो प्रयोगका रूपमा उद्घाटन र समापन मुख्य रंगशालामा नभएर नदीको बिचमा गरेको थियो । पेरिसको मध्यभाग भएर बग्ने सेन नदीमा खेलाडीहरू अल्फाबेटअनुसार बोटिङमा उद्घाटन समारोहमा सहभागी भएका थिए । पेरिस ओलम्पिकको अन्तिम दिनमा मात्र सर्वाधिक पदक र शीर्ष स्थानको राष्ट्र छिनोफानो भयो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा आबद्ध दुई सय ६ मध्ये दुई सय चार सहभागी भएको ओलम्पिक प्रतिस्पर्धामा अमेरिकाले अन्तिम दिन बास्केट बलमा स्वर्ण जित्दा चीन दोस्रो स्थानमा धकेलिएको थियो ।
यद्यपि, एक साताभन्दा बढी चीनले नै शीर्ष स्थानमा राज गरेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जितेका थिए । तर, रजतमा चीनभन्दा अमेरिका माथि रहेका कारण नै शीर्ष स्थानमा उक्लियो । पदक तालिकामा जापान तेस्रो भयो । जापानले २० स्वर्णसहित तेस्रो स्थान रक्षा गरेको थियो । यसैगरी, पेरिस ओलम्पिकमा नेपालबाट म्याराथन, जुडो, सुटिङ, पौडी र म्याराथनका खेलाडीले भाग लिएका थिए । नेपालबाट म्याराथनमा सन्तोषी श्रेष्ठले भाग लिएकी थिइन् । ओलम्पिक इतिहासमा २८ वर्षपछि नेपाली महिला धाविकाले भाग लिएकी हुन् । खेलाडीभन्दा पदाधिकारी धेरै सहभागी हुँदा नेपालको आलोचनासमेत भयो । फ्रान्सका आरिसा ट्रेउले १४ वर्षकै उमेरमा स्वर्ण जित्दै रेकर्ड बनाए । समग्रमा पेरिस ओलम्पिक आयोजना गर्न फ्रान्सले ९.४ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।
पेरिस ओलम्पिकमा पाकिस्तानले ४० वर्षपछि स्वर्ण जित्यो । अर्सद नदिमले पुरुष ज्याभलिन थ्रोमा कीर्तिमान रच्दै स्वर्ण जितेका थिए । उनले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे । भारतका नीरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए ।
क्रिकेट
यस वर्ष वेस्ट इन्डिज र अमेरिकाले आइसिसी टी–२० विश्वकप आयोजना गरेका थिए । अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गर्न अवसर पाउँदा लगानीमा कुनै कन्जुस्याइँ गरेन । अझ अमेरिकाले विश्वलाई चकित बनाउन ‘ड्रप इन पिच’ प्रयोग गरेको थियो । अस्ट्रेलियामा निर्माण भएका आठ पिचमै अमेरिकाले विश्वकप खेलाएको थियो । उसले रंगशाला पनि अस्थायी रूपमा निर्माण गरेको थियो । अमेरिकामा क्रिकेट धेरै प्रचार नभएका कारण विश्वकप खेलाइएको धेरैजसो भौतिक पूर्वाधार अस्थायी प्रकृतिका थिए । यो विश्वकपमा भारतले उपाधि उचाल्यो ।
भारतले दक्षिण अफ्रिकालाई फाइनलमा हराउँदै दोस्रो पटक विश्वकप हात पारेको थियो । विश्वकपमा केही सनसनी नतिजा आए । अमेरिकाले समूह चरणमा पूर्वविजेता पाकिस्तानलाई स्तब्ध पारेको थियो । अमेरिकाको पहिलोपटक सुपर ऐटमा प्रवेश गर्दै अर्को संस्करणको विश्वकपमा समेत स्थान पक्का पारे । आइसिसी टी–२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्यो । नेपालले आफ्नो समूहमा कुनै पनि खेलमा जित हात नपारेपछि वाहवाही कमाएको थियो ।
विश्व क्रिकेटकै शक्तिशाली मानिने राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल झिनो एक रनले पराजित भयो । नेपालमाथि बंगलादेशले जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो । यस वर्ष अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रभाव राखेको छ । बंगलादेशविरुद्धको तीन खेलका टी–२० आईमा २–१ ले कब्जा जमायो । बंगलादेशले पाकिस्तानलाई एकदिवसीय सिरिजमा २–० ले हरायो । यसैगरी, श्रीलंकाले महिला एसिया कप टी–२० आयोजना गरेको थियो । एसिया कपमा सहभागी भएको महिला नेपाली टोलीले एक खेलमा जित निकाल्यो । नेपालले समूह ‘ए’मा भारत र पाकिस्तान जस्ता प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यसै वर्ष चलिरहेको आइसिसी विश्वकप लिग–२ मा नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले १२ खेलमा दुई जित मात्र निकाल्यो । आठ खेलमा हार सामना गरेको नेपाल सातौँ स्थानमा छ ।
फुटबल
वर्षभरि नै सक्रिय रहने खेल फुटबल हो । यस वर्ष युरोपका नियमित शीर्ष पाँच डिभिजन लिगका आधारमा चरण खेल भइरहेका छन् । फुटबलप्रेमीले यस वर्ष दुई ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको मजा लिएका छन् । एकै वर्ष युरो तथा कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजना भएको थियो । युरोपमा युरो २०२४ र दक्षिण अमेरिकामा कोपा अमेरिका भयो । सन् २००८ को शैलीमै स्पेनले युरो च्याम्पियनसिप उपाधि जित्यो । सन् २०१२ पछि युरो च्याम्पियन बनाउन १७ वर्षीय युवा खेलाडी यामिने यामलले अद्भुत खेल प्रदर्शन गरेका थिए । उनले पहिलोदेखि फाइनल खेलसम्म उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाले पुनः एकपटक कोपा अमेरिकामाथि कब्जा जमाएको थियो ।
अर्जेन्टिनाले लगातार दुईपटक कोपा अमेरिका जितेको हो । समग्रमा अर्जेन्टिना १६औँपटक च्याम्पियन भयो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले एसिया कप जित्यो । जर्मनीमा वायर्न लेभरकुसेनले वायर्न म्युनिखको दबदबा समाप्त पार्दै पहिलोपटक बुन्डेस लिगा हात पारेको थियो । विश्वकै धनी शीर्ष लिग मानिने इंग्लिस प्रिमियर लिगमाथि म्यानेचस्टर सिटीले लगातार चारपटक कब्जा जमायो । यद्यपि, नयाँ सिजनमा सिटीले १२ मध्ये नौ प्रिमियर लिग खेल गुमाएको छ । स्पेनिस क्लब रियल म्याड्रिडले पुनः एकपटक युरोपियन च्याम्पियन्स लिग जित्यो । यति मात्र नभएर रियलले स्पेनिस ला लिगा, इन्टरकन्टिनेन्टल, युइएफए सुपर कप तथा स्पेनिस सुपर कप पनि जित्यो ।
टेनिस
२० वर्षको व्यावसायिक अन्तर्राष्ट्रिय टेनिस खेलमा जीवन बिताएका स्पेनिस राफेल नाडालले यसै वर्ष सन्न्यास घोषणा लिए । यो दुई दशकमा ‘बी थ्री’ टेनिस खेलाडीले दबदबा राख्दा नाडाल पनि एक हुन् । स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाली नोभाकमा जोकोभिकसँगै नाडालले सन् २००० देखि टेनिसमा एकछत्र राज गरेका थिए । यद्यपि, जोकोभिकले सन् २०१० पछि मात्र आफ्नो प्रभाव देखाएका हुन् । यसअघि नाडाल र फेडेररबिच एटिपीदेखि ग्रान्डस्लामसम्म घम्सा–घम्सी हुने गर्थ्यो ।
नाडालले डेभिस कपको क्वार्टर फाइनलमा करिअरकै अन्तिम खेलमा हारको सामना गरेपछि सन्न्यास लिए । बायाँहाते खेलाडीले विशेषतः क्ले कोर्ट (रातो माटो)मा प्रतिस्पर्धा गर्ने क्षेत्रमा आफूलाई एक दशकभन्दा लामो समय नम्बर एक खेलाडीकै रूपमा स्थापित गरे । उनले फ्रेन्च ओपनमाथि १४ पटक कब्जा जमाएका छन् । टेनिस खेलाडीले एटिपीदेखि ग्रान्डस्लासम्म एक दर्जनभन्दा बढी उपाधि जित्ने खेलाडी नाडाल हुन् । करिअरमा उनले २२ ग्रान्डस्लाम जितेका छन् । टेनिस क्षेत्रमा नाडाललाई उत्कृष्ट बनाउने क्रममा दुईपटक ओलम्पिक स्वर्ण पनि हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले एकलतर्फ स्पेनलाई स्वर्ण दिलाए । सन् २०१६ को रियो ओलम्पिकको डबल्समा उनले अर्को स्वर्ण घर भित्र्याए । ३७ वर्षीय नाडालले चारपटक डेभिस कप जितेका छन् ।
नाडालले सन्न्यास लिएको यसै वर्ष दुई खेलाडीले ग्रान्डस्लाममा राज गरे । स्पेनिस युवा खेलाडी कार्लोस अल्काराजाले बिम्बल्डन र फ्रेन्च ओपन जिते । इटालीका जानिक सिनेरले युएस र अस्ट्रेलियन ओपन हात पारे ।
बक्सिङ
यस वर्ष बक्सिङमा चर्चाको विषय बन्यो, पूर्वहेबिवेट च्याम्पियन माइक टाइसनको खेल । सर्वाधिक विवादास्पद मानिएको ५८ वर्षीय मुक्केबाज टाइसनले जेक पलसँग प्रतिस्पर्धा गरेका थिए । जेकले टाइसनलाई अंकका आधारमा हराए । टाइसन १९ वर्षपछि पहिलो व्यावसायिक खेलमा फर्किएका थिए । यस खेल नेटफ्लिक्समा प्रत्यक्ष प्रसारण गरिएको थियो । डलास काउबोइजको रिङमा रंगशालामा ७० हजार दर्शकले खेल हेरे । उमेर ढल्किँदै गरेका टाइसनले रिङमा आठ राउन्ड पूरा गरेका थिए । जेकले अंकको आधारमा सर्वसम्मत निर्णयबाट बाजी मारे । दर्शकले टाइसनबाट विशेष प्रदर्शनको अपेक्षा गरेका थिए, तर उनी असफल भए । तेस्रो राउन्डदेखि नै जेकले खेलमा वर्चस्व कायम गर्दै पूर्ण नियन्त्रणमा लिएका थिए । उनले सर्वकालिक महान् खेलाडी टाइसनलाई आफ्नो लयमा फर्कनै दिएनन् ।
(एजेन्सीको सहयोगमा)