मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ५ बुधबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ५ बुधबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्यासिनोको लतमा फसेका चिकित्सकद्वारा ‘अन्डरवर्ल्ड’को नाममा पैसा असुल्ने प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ५ बुधबार १७:४७:oo

अन्डरवर्ल्डको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएको आरोपमा चिकित्सक आशिष दाहाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भोजपुर घर भई ललितपुरको ग्वार्को बस्ने ३२ वर्षीय डा. दाहाललाई पक्राउ गरेको हो।

ग्वार्कोको निजी क्लिनिकमा काम गर्ने दाहालले चिकित्सकदेखि व्यापारीसम्मलाई पैसा माग्दै ह्वाट्सएपमार्फत धम्क्याएको प्रहरीले जनाएको छ। उनले पैसा नदिए हत्या गर्नेसम्मको धम्की दिएका थिए।

पक्राउपछि दाहालले आफूले क्यासिनोको लतका कारण आर्थिक संकटमा फसेको र सोही कारण यस्तो काम गरेको बताएका छन्। अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार सन् २०१७ मा उनी अमेरिका गएका थिए। त्यहाँ नियमित क्यासिनो जान्थे। त्यस क्रममा ठुलो रकम हारेपछि उनी नेपाल फर्किएका थिए। सामान्य आर्थिक अवस्था भएको र क्यासिनोमा हारेको पैसाका कारण उनी तनावमा थिए।

उनले नयाँ सिमकार्ड निकालेर धम्क्याउने योजना बनाएका थिए। प्रहरीका अनुसार उनले आफ्नै सहकर्मी तथा सामान्य चिनजान भएका व्यापारीहरूलाई ह्वाट्सएपमा म्यासेज पठाएर दुई लाख रुपैयाँसम्म मागेका थिए। तर, पैसा भने कसैले दिएका थिएनन्।

दाहालले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)बाट छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका हुन्। 
कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए।