मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Wednesday, 18 December, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ मङ्सिर ६ बिहीबार o६:५९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

करोडौँ लाग्ने भन्दै अस्पतालमा थन्क्याइएका आधा उपकरण खर्चविनै मर्मत गर्न सकिने

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार o६:५९:oo

३०% उपकरण सामान्य खर्चमा, २०% विदेशबाट पार्टपुर्जा मगाएर र ५०% उपकरण विनाखर्च मर्मत गर्दै आविष्कार केन्द्र

संघीय अस्पतालहरूले करोडौँ खर्च लाग्ने भन्दै वर्षौँदेखि थन्क्याएकामध्ये ५० प्रतिशत उपकरण खर्चविना नै मर्मत गर्न सकिने पाइएको छ । बिग्रिएका स्वास्थ्य उपकरण मर्मतसम्भारको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले आधा उपकरणहरू खर्चविनै मर्मत भइरहेको बताएको छ । 

थन्क्याइएका उपकरणमध्ये ३० प्रतिशत स्थानीय बजारमा पाइने पार्टपुर्जाको प्रयोगबाट मर्मत भइरहेको केन्द्रले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको सम्झौताअनुसार गत ५ भदौदेखि केन्द्रले संघीय अस्पतालहरूका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गरिरहेको छ । 

केन्द्रका निर्देशक महावीर पुनका अनुसार बिग्रिएका उपकरणका लागि २० जना बायोमेडिकल इन्जिनियरले काम गरिरहेका छन् । उनका अनुसार त्यसमा ५० प्रतिशतजति उपकरण कुनै खर्च नगरी मर्मत भएका छन् । यसबाहेक करिब ३० प्रतिशत उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जा फेरेर र बाँकी २० प्रतिशतजति उपकरण मात्र विदेशबाट नै पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने खालका रहेको पुनले बताए । 

‘अहिले वीर, कान्ति बाल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ । यस्तै, नारायणी, भक्तपुर क्यान्सर, मानव अंग प्रत्यारोपण केन्द्रसँग काम गर्ने प्रक्रिया अगाडि बढेको छ । अन्य निजी अस्पतालमा समेत काम अगाडि बढाएका छौँ । जसमध्ये आधा प्रतिशत उपकरण त इन्जिनियरहरूले बाहिरी कुनै खर्च नलाग्ने गरी मर्मत गर्न सकिने पत्ता लगाएका छन्,’ उनले भने ।

पहिलो चरणमा वीरका २ सय ८४ र कान्तिका १ सय ५८ उपकरण हुँदै छ मर्मत

उपकरणको अवस्था निरीक्षण सकेर पहिलो चरणमा केन्द्रले वीरका २८४ र कान्तिका १५८ उपकरण मर्मतको तयारी थालेको छ । अस्पतालमा वर्षौँदेखि बिग्रिएर रहेका उपकरणको अवस्था हेरेर मर्मत गर्न मिल्ने उपकरण छुट्याइएको केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतले बताए । उनका अनुसार पहिलो चरणमा बिग्रेका उपकरणको अवस्था जाँच सकिएको र पार्टपुर्जाविना चलाउन मिल्ने उपकरणको मर्मत थालिएको छ ।

केन्द्रले गरेको निरीक्षणका आधारमा वीर अस्पतालमा हाल रहेका एक हजार ९२५ उपकरणमध्ये १५ प्रतिशत अर्थात् २८४ वटा उपकरण मर्मत गर्नुपर्ने खालका छन् । जसमध्ये पाँचवटा भेन्टिलेटर र एउटा सी आर्म मेसिन मर्मत गरिएको इन्जिनियर किराँतले बताए । यसबाहेक १५ अटोक्लेभ, तीनवटा सी आर्म मेसिन, एउटा सिटिस्क्यान, सात हेमोडायलाइसिस मेसिन, १२ इन्फ्युजन पम्प, एउटा मेमोग्राफी, दुई अक्सिजन प्लान्ट, ३० सिरिन्ज पम्प, सातवटा अल्ट्रासाउन्ड, २२ भेन्टिलेटर र तीनवटा एक्सरे मेसिन मर्मत भइरहेका छन् ।

यस्तै, कान्ति अस्पतालमा रहेका ८४४ उपकरणमध्ये १५८ वटा बिग्रेका छन् । जसमध्ये हालसम्म एउटा इन्फ्यान्ट रेडियन्ट वार्मर, दुई प्यासन्ट मोनिटर, तीन इन्फ्युजन पम्प मर्मत भएको केन्द्रले जनाएको छ । यसबाहेक, १७ बबल सिपिएपी, तीन इन्फ्यान्ट इन्कुबेटर, १० रेडियन्ट वार्मर, २५ इन्फ्युजन पम्प, २४ प्यासेन्ट मोनिटर, २५ सिरिन्ज पम्प, २० भेन्टिलेटर, दुई एक्सरे मेसिन मर्मतका लागि ल्याइएको केन्द्रले जनाएको हो । 

२०% जति उपकरण मर्मत गर्न मात्र विदेशबाट पार्टपुर्जा मगाउनुपर्छ : महावीर पुन, निर्देशक, राष्ट्रिय आविष्कार केन्द्र
बिग्रिएका उपकरणका लागि २० जना बायोमेडिकल इन्जिनियरले काम गरिरहेका छन् । अहिले वीर, कान्ति बाल र गंगालाल अस्पतालको पहिलो चरणको काम सकिएको छ । यस्तै, नारायणी, भक्तपुर क्यान्सर, मानव अंग प्रत्यारोपण केन्द्रसँग काम गर्ने प्रक्रिया अगाडि बढेको छ । जसमध्ये करिब ५० प्रतिशतजति उपकरण कुनै खर्च नगरी मर्मत गर्न सकिने देखिए । करिब ३० प्रतिशतजति उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जा फेरेर र बाँकी २० प्रतिशतजति उपकरण मात्र विदेशबाट नै पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने खालका छन् ।

स्वास्थ्य मन्त्रालय र केन्द्रबिच यस्तो छ सहमति
मर्मत अभावका कारण करोडौँ मूल्यबराबरका स्वास्थ्यका उपकरण प्रयोगविहीन भएका थिए । त्यसपछि पुनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग मर्मतका लागि सघाउन आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेर मर्मतको जिम्मा दिएको थियो । मर्मत गर्न सकिने उपकरणलाई बनाउने, मर्मत गर्न नसकिने र पूर्णतया बिग्रेका मेसिनलाई कवाडीमा लानुपर्ने भनेर छुट्याइदिने र मर्मत गर्न सकिने, तर केन्द्रलाई थप जनशक्ति र स्रोतको आवश्यकता भएमा मन्त्रालयले सहयोग गर्ने गरी सम्झौता गरिएको छ । केन्द्रले १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण संकलन र मर्मतको काम विभिन्न चरणमा गर्ने जनाएको छ । महँगा उपकरण सामान्य बिग्रिँदा पनि थन्क्याइने र नयाँ किन्ने प्रवृत्ति अन्त्य गर्न केन्द्रको कामले ठुलो भूमिका खेल्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।