तीन करोड लगानी गर्दा ३३ करोड आम्दानी हुने लोभले फसेका थिए पदाधिकारी
कांग्रेस उपसभापति धनराज गुरुङसमेत जोडिएको ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभबाट अपचलन भएको रकम कार्यसमितिका पदाधिकारीकै संलग्नतामा ‘क्रिप्टो’मा लगानी भएको खुलेको छ । क्रिप्टोबाट रातारात दश गुणाभन्दा धेरै नाफा प्राप्त हुने प्रलोभनमा परेर पदाधिकारीहरूले ज्योतिबहादुर भण्डारीलाई तीन करोड ४५ लाख दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा खुलेको हो ।
सिआइबीका अनुसार भण्डारीले तीन करोड ४५ लाख लगानी गर्दा ३३ करोड रुपैयाँ आम्दानी हुने प्रलोभन दिएका थिए । सिआइबीले कार्यसमितिका नौ पदाधिकारीलाई नै कार्यालयमै बोलाएर कागज गराएको छ भने यो ‘क्रिप्टो’ र ठगीअन्तर्गत दुई छुट्टाछुट्टै कसुरमा अनुसन्धान अघि बढाएको छ ।
सिआइबी प्रमुख एआइजी दीपक थापाले सहमतिकै आधारमा ‘क्रिप्टो’मा लगानी भएको देखिएपछि मितेरीका कार्यसमितिका पदाधिकारीलाई कागज गराएको बताए । उनले भने, ‘सहकारीको रकम ‘क्रिप्टो’मा लगानी भएको देखिन्छ । मुख्य योजनाकार ज्योति भण्डारीलाई कार्यसमितिका पदाधिकारीले सहमतिमै रकम दिएजस्तो देखिन्छ । त्यसो हुँदा यो घटनालाई ठगी र ‘क्रिप्टो’ गरी दुई फरक–फरक कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । सोही प्रयोजनमा सहकारीका पदाधिकारीलाई कार्यालयमा उपस्थित गराएर कागज गराइएको छ ।’
सहकारीको नेतृत्व अहिले कुम्भराज गुरुङले गरिरहेका छन् । घटनाका मुख्य योजनाकार भण्डारीसँग गुरुङको भेट ज्योति गुरुङमार्फत भएको थियो जो कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी (कागजी डिभोर्स) हुन् । ज्योतिले यसअघि नै भण्डारीमार्फत ‘क्रिप्टो’मा लगानी गरेकी थिइन् । ‘क्रिप्टो’बाट फाइदा भएको भन्दै भण्डारीले नक्कली स्लिपहरूसमेत ज्योतिलाई पठाउने गर्थे ।
लोभिएकी ज्योतिले बचतकर्ताबाट सहकारीमा ‘डिपोजिट’ रकमको दुरुपयोग गर्न थालिन् । विशेषगरी उनले बचतकर्ताको ‘फिक्स्ड डिपोजिट’मा राखिएको रकम दुरुपयोग गरिन् । यस क्रममा उनले बचतकर्तालाई ‘डिपोजिट’ गरेबमोजिमकै ‘डिपोजिट स्लिप’ काटेर दिन्थिन् । तर, सहकारीको प्रणालीमा भने कम रकम ‘डिपोजिट’ गरिदिन्थिन् । पोल नखुलोस् भन्ने उद्देश्यले ब्याजबापतको रकम भने उनले सबै बचतकर्तालाई ‘डिपोजिट’ भएको रकमबराबर नै उपलब्ध गराउँथिन् । यसका लागि उनले प्रत्येक बचतकर्ताको ‘पर्सनल अकाउन्ट’ बनाएकी थिइन् । यसरी उनले बचतकर्ताको ६ करोड रुपैयाँ हिनामिना गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ ।
सिआइबी प्रमुख एआइजी थापाले भने, ‘घटनाका मुख्य योजनाकार ज्योतिबहादुर भण्डारी हुन् । पहिलो चरणमा उनले ज्योतिलाई प्रलोभनमा फसाए । यस क्रममा ज्योतिले सहकारीको ६ करोड रुपैयाँ अपचलन गरिन् । र, सबै रकम भण्डारीलाई दिइन् । पछि सहकारीका पदाधिकारी पनि प्रलोभनमा फसे । सोही क्रममा उनीहरूले भण्डारीलाई तीन करोड ४५ लाख रुपैयाँ दिन राजी भएको देखिन्छ ।’
सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा भने ज्योतिले १६ बचतकर्ताको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरेको उल्लेख छ । घटनामा ज्योति र भण्डारीसहित सुजन शाक्य, हितमान थापा र प्रकाश थापा संलग्न रहेको देखिएको छ । सिआइबीले सबैविरुद्ध गत ६ असोजमा नै पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये ज्योति र भण्डारीविरुद्ध ‘रेड कर्नर’ नोटिस नै जारी भएको छ । तर, उनीहरूमध्ये कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
ज्योति र धनराजबिच ‘कागजी सम्बन्धविच्छेद’को कारण ‘क्रिप्टो’को लगानी
कहिले बैंकक त कहिले कम्बोडिया बस्ने ज्योतिबहादुरको ज्योति गुरुङसँग भेट ०७६ मा पोखरास्थित ‘क्लब’मा भयो । दुई नजिकिए । यही क्रममा ज्योतिबहादुरले ‘क्रिप्टो करेन्सी’को विषयमा ज्योतिलाई सुनाए । रातारात मालामाल हुने सपना देखाए । परीक्षणका रूपमा ज्योतिले सुरुमा केही रकम ज्योतिबहादुरलाई दिइन् । ज्योतिबहादुरले ज्योतिलाई ‘क्रिप्टो’बाट फाइदा भएको भन्दै नक्कली स्लिपहरूसमेत पठाउने गर्थे । ज्योतिले यताबाट भटाभट सहकारीको पैसा निकाल्दै पठाइदिन्थिन् । यसक्रममा ज्योतिबहादुले ज्योतिमार्फत मितेरीको झन्डै १० करोड रुपैयाँ हात पारे । त्यसपछि भने उनी सम्पर्कविहीन बने । सहकारीकी महाप्रबन्धक रहेकी ज्योति पनि गायब भइन् ।
रकम गुमेपछि सहकारीको कार्यसमितिको बल्ल आँखा खुल्यो । ज्योति पनि सम्पर्कविहीन बनेपछि सहकारीका अध्यक्ष कुम्भराजले उनका श्रीमान् धनराजलाई कार्यालय बोलाए । दुई पक्षबिच छलफल भयो । सोही क्रममा धनराजले डुबेको रकम उठाइदिने सहमति जनाए । तर, दुई पक्षबिच कागजात भने हुन सकेको थिएन ।
प्रहरीका अनुसार धनराज घर फर्किए । सहकारीको रकमका सन्दर्भमा ज्योतिसँग सोधपुछ गरे । दुई पक्षबिच विवाद यति चर्कियो कि धनराजले ज्योतिमाथि हातै हाले । ज्योति सोही दिनदेखि धनराजसँग छुट्टिइन् । उनीहरूबिच २९ फागुन ०७६ मा जिल्ला अदालत ललितपुरमा सुटुक्क ‘कागजी सम्बन्धविच्छेद’ भयो । यसमा सहकारीको दाबी छ– धनराजले ज्योतिसँगको सम्बन्धविच्छेदबारे सहकारीलाई जानकारी गराएको भए डुबेको रकम असुल गर्ने सम्बन्धमा अदालतमै टुंगो लाग्ने थियो ।
ज्योतिले अपचलन गरेको र ज्योतिबहादुरले सहकारीका पदाधिकारीबाट लिएकोसहित गरेर ब्याजसहित असुल गर्नुपर्ने रकम १४ करोड ८१ लाख रहेको सहकारीको दाबी छ । सहकारीले यो पनि भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’ यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनेर ज्योतिकै नाम उल्लेख गरेका थिए । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । त्यसबाहेक ४ मंसिर ०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगमा पेस गरिएको कागजातमा पनि धनराजले ज्योतिलाई श्रीमती नै भनेका छन् ।
(यसअघि यस समाचारमा असान्दर्भिक तस्बिर पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ : सम्पादक)