सेयर मूल्य प्रभावित पार्ने गरी सूचना चुहाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोटलर्स नेपालको सेयर कारोबारमा रोक लगाएको छ । आर्थिक वर्ष ०८०/८१ को लाभांश नदिने सञ्चालक समितिको निर्णय नेप्सेलाई जानकारी नगराई सार्वजनिक गरेकोमा नियामक निकायले कारबाही गरेको हो । ५ मंसिरमा बसेको सञ्चालक समितिले लाभांश नबाँड्ने प्रस्ताव साधारणसभामा पेस गर्ने निर्णय गरेको थियो ।
तर, नेप्सेमा यो जानकारी २ पुस (मंगलबार) मात्रै पेस भएको उल्लेख छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्छ । तर, बोटलर्स नेपालले यो विनियमावलीको व्यवस्था पालना नगरेको नेप्सेको ठहर छ ।