महाधिवेशन सम्पन्न भएको करिब ६ महिनापछि नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको हो ।
पार्टीका सचिव सोमप्रसाद पाण्डेका अनुसार अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको छ ।
पार्टीका सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख बनाइएको छ । संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज बनाइएको छ । उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
महासचिव घनश्याम भुसालले अनुगमन विभागको जिम्मेवारी पाएका छन् । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ भने उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरी लुम्बिनी इन्चार्ज बनेका छन्।
पार्टीका सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ। युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ ।