अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको छ । गत कात्तिकमा घरजग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजस्व संकलन भएकामा मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ बराबर संकलन भएको हो ।
मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५१४ घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार ८७३ बराबरको राजस्व संकलन गरेको छ ।
काठमाडौं उपत्यकामा नौवटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४२५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८१५, साँखुले सात करोड ५० लाख २२ हजार ६२९, मनमैजुले सात करोड २६ लाख ३४ हजार २३३, टोखाले सात करोड १२ लाख ४५ हजार ७६५ बराबरको राजस्व संकलन गरेको छ ।
यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार १८४ बराबरको राजस्व संकलन गरेको छ ।
विभागमा अनुसार मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६९०, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार ३४० बराबर संकलन गरेको छ । त्यस्तै, एक अर्ब ३१ कराेड ६३ लाख ४३ हजार ७१४ बराबरको पुँजीगत लाभकर संकलन गरेको छ ।