मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
रासस बाँके
२o८१ पौष ३ बुधबार १५:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

Read Time : > 1 मिनेट
रासस, बाँके
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १५:१७:oo

बाँकेकाे राप्तीसोनारी गाउँपालिका– ८ शमशेरगन्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयअन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, बिगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ।

‘हरेक वर्ष लक्ष्यभन्दा धेरै उत्पादन गरिरहेका छौँ,’ केन्द्रका सूचना अधिकारी चौधरीले भने, ‘यहाँ उत्पादित भुराले किसानको मागको आधारमा २५ देखि ३० प्रतिशत मात्र धानेका छौँ, बाँकी उहाँहरूले निजी फार्मबाट लैजाने गर्नुहुन्छ।’

उनका अनुसार, शमशेरगन्जमा केन्द्रको कुल ३.५९ हेक्टर जमिनमध्ये जलाशय जमिन १.८२ हेक्टर छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि साना–ठुला गरेर २३ पोखरी निर्माण गरिएको छ । जसमध्ये रेयरिङ पोखरी चार, नर्सरी पोखरी १२, माउ पोखरी ६ र खानेमाछा पोखरी एउटा छ।

मत्स्य विकास केन्द्र शमशेरगन्जमा गत आर्थिक वर्ष ०८०/८१ मा ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङरलिङ’ भुरा १२ लाख र खानेमाछा (इएरलिङ) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । तर, लक्ष्यभन्दा धेरै उत्पादन गरिएको चौधरीले बताए।

‘गत वर्ष हामीले लक्ष्य राखेको भन्दा धेरै भुरा उत्पादन गर्‍याैँ, ‘ह्याचलिङ’ भुरा दुई करोड ३० लाख, ‘फ्राई’ भुरा २६ लाख ८४ हजार, ‘फिङरलिङ’ भुरा २३ लाख १७ हजार र खानेमाछा नौ क्विन्टल ८४ केजी उत्पादन भएको छ,’ चौधरीले भने, ‘माछाका भुरा र खानेमाछा बिक्रीबाट गत वर्ष ३३ लाख ८२ हजार ३९८ रुपैयाँ राजस्व संकलन भएको छ, हरेक वर्ष उत्पादन पनि बढिरहेको छ र राजस्वमा पनि वृद्धि हुँदै गएको छ।’

आर्थिक वर्ष ०७९/८० मा भन्दा गत आर्थिक वर्षमा कैयौँ गुणा बढी भुरा उत्पादन गरेको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७९/८० मा ‘ह्याचलिङ’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङरलिङ’ भुरा २० लाख चार हजार र खानेमाछा ६.३० क्विन्टल उत्पादन भएको थियो । उक्त आवमा माछाजन्य वस्तुको बिक्रीबाट रु. २९ लाख ८२ हजार ६ सय ७१ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ। 

सूचना अधिकारी चौधरीका अनुसार अन्डाबाट निस्केको पाँचदेखि सात दिनको भुरालाई ‘ह्याचलिङ’, २५ देखि ३५ दिनसम्मलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मलाई ‘फिङरलिङ’ र ४५ देखि ६० दिनसम्मलाई ‘एड्भान्स फिङरलिङ’ र ६० दिनदेखि माथिलाई ‘इएरलिङ’ भनिन्छ।