मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २७ बिहीबार o८:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पौडेल र झाँक्रीसहित १७ नेता स्थायी समितिमा मनोनीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार o८:४२:oo

एकीकृत समाजवादीले स्थायी कमिटीमा १७ जना सदस्य मनोनीत गरेको छ । बुधबार सुरु स्थायी कमिटी बैठकले विगतमा पदाधिकारी र स्थायी समिति सदस्य भइसकेका १७ जना पोलिटब्युरो सदस्यलाई स्थायी कमिटीमा मनोनीत गरेको हो । ‘विगतका पदाधिकारी र स्थायी समिति सदस्य रहनुभएका र हाल पोलिटब्युरोमा निर्वाचित १७ जना नेतालाई स्थायी समितिमा थप्ने निर्णय भएको छ,’ बैठकपछि सचिव श्रीराम बरालले नयाँ पत्रिकासँग भने ।

स्थायी समितिमा मनोनीत भएकामा डा. विजय पौडेल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, केशवलाल श्रेष्ठ, डा. वंशीधर मिश्र, बलराम बास्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, हरि पराजुली, साध्यबहादुर भण्डारी, लक्ष्मण पौडेल, नागेन्द्र चौधरी र रामचन्द्र झा छन् । पौडेल, झाँक्री, झा, भण्डारी, केशवलाल श्रेष्ठ, खतिवडा र बास्कोटा उपाध्यक्षमा पराजित भएका थिए । चौधरी, लक्ष्मण पौडेल, महतो, पराजुली, जीवनराम श्रेष्ठ, साह, उपमहासचिवमा पराजित भएका थिए । स्थायी समितिमा मनोनीत अन्य नेता भने पदाधिकारीमा उठेका थिएनन् ।

पदाधिकारी स्वतः स्थायी समिति सदस्य हुन्छन् । यसअघि पदाधिकारी र वरिष्ठ नेतालाई समेटेर स्थायी कमिटी गठन गरिएको थियो । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेतात्रय डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई, सचिव श्रीराम बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल, बलदेव चौधरी र गणेश विक स्थायी समिति सदस्य छन् । अब शुक्रबार नयाँ सदस्यसहित स्थायी समिति बैठक बस्नेछ । बैठकले नेताहरूको कार्यविभाजन र आगामी कार्ययोजना तयार पार्ने बरालले जानकारी दिए ।

माधव नेपालले भने– देशमा भ्रष्टाचार बढ्यो
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गरेका थिए । उनले सरकारले राम्रो काम गर्न नसकेको, भ्रष्टाचार बढेको, जनताले सास्ती भोगिराख्नुपरेको बताए । ‘सरकार राम्रोसँग चल्न सकेको छैन । जनताको पक्षमा राम्रोसँग कुनै भएको छैन । आमनागरिकले सरकारको अनुभूति नै गर्न पाएका छैनन् । सुशासन कायम हुन सकेको छैन । भ्रष्टाचार बढ्दो छ,’ नेपालको भनाइ उद्धृत गर्दै बरालले भने ।