मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार ११:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इटहरीमा दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने

विजेता र उपविजेता टिमले क्रमश: नगद दुई लाख ५० हजार र एक लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार ११:३४:oo

द योङ ब्रदर्श क्लब इटहरीले आगामी माघ १९ गतेदेखि दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप आयोजना गर्ने भएको छ । क्लबले मंगलबार इटहरीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको छ ।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार आगामी माघ १९ गतेदेखि इटहरी- ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनका अनुसार प्रतियोगितामा आठवटा टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश: नगद दुई लाख ५० हजार र एक लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।  गत वर्ष आयोजित पहिलो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप विजेतालाई दुई लाख २२ हजार र उपविजेतालाई एक लाख ११ हजार रुपैयाँ प्रदान गरिएको सुब्बाले जानकारी दिए ।

यहाँको सबैभन्दा पुरानो उक्त क्लब रहेको र खेल क्षेत्रमा लाग्ने युवाहरू कुलतबाट समेत मुक्त हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक विकास केसीले बताए । 

उनका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने तयारी छ । जसअनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १९ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १९ हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १९ हजार, उत्कृष्ट मिडफिल्डरलाई नगद १९ हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १९ हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १९ हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिनेछ । यसैगरी, प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ । 

खेललाई इटहरी उपहानगरपालिकाले संयोजन गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले संरक्षण गरेको केसीले बताए । उनका अनुसार अघिल्लो वर्ष प्रतियोगितालाई पारदर्शी बनाइएका कारण यस वर्ष पनि फुटबल प्रतियोगिताको तयारी गरिएको हो । 

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष भएको प्रतियोगितामा भगिमान तुम्बाहाम्फे फुटबल क्लब (बिटिएफसी) तेह्रथुमले उपाधि जितेको थियो ।