काठमाडौं महानगरपालिका– ९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चारजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका– १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका– ७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका– ७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका– ५ घर भएका २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो । सो रकम हुन्डीको भएको प्रहरी आशंका छ । सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।