मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ पौष ३ बुधबार o७:२१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरप्रति प्रधानमन्त्रीको कटाक्ष- गरिखाने वर्गमाथि आतंक मच्चायो

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार o७:२१:oo

- नगर प्रहरी देख्दा जनता भाग्ने र तर्सिने होइन सुरक्षित महसुस गर्ने र हाम्रा रक्षक आए भन्ने महसुस गर्नुपर्छ । 
- राज्यको कोषबाट पारिश्रमिक खानेले जनताका सेवक हौँ भनेर बुझ्नुपर्छ । 

प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिकाअन्तर्गतको नगर प्रहरीले गर्दै आइरहेको व्यवहारको चर्को आलोचना गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरले फुटपाथ व्यापारी र गरिखाने वर्गमाथि आतंक मच्चाएको तथा दुःख दिएको भन्दै आलोचना गरे । 

उनले ललितपुर महानगरमा त्यस्तो नभएको र महानगर नगर प्रहरीले दुःख पनि नदिएको भन्दै प्रशंसासमेत गरे । उनले काठमाडौं नगर प्रहरीमाथि व्यंग्य गर्दै भने, ‘ललितपुर नगर प्रहरीले गुर्ररर... जिपमा कुदेर अर्कै लोकको केही आएझैँ, झ्याप्प गाडी रोकेर सामान फाल्दै, ठेला फाल्दै गरिबका तरकारी, टमाटर फाल्दै गरेको मैले देखेको छैन । ललितपुर नगर प्रहरीलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले नगर प्रहरी देख्दा जनता भाग्ने र तर्सिने होइन सुरक्षित महसुस गर्ने र हाम्रा रक्षक आए भन्ने महसुस गर्नुपर्ने बताए । पर भागौँ, के गरौँ ? भन्ने किसिमको व्यवहार नगर प्रहरीबाट हुन नहुने प्रधानमन्त्री ओलीले ध्यानाकषर्ण गराए । ‘कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउने यस्तो अवस्था नहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘नगर प्रहरी आउँदा हाम्रो सेवक आयो भन्ने महसुस हुनुपर्छ, तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु ।’ राज्यको कोषबाट पारिश्रमिक खानेले जनताका सेवक हौँ भनेर बुझ्नुपर्ने उनको भनाइ थियो । यसकारण जनप्रतिनिधिले देशको रक्षा र हितमा लाग्न उनले आग्रह गरे । 

दिवसको अवसरमा ललितपुरले अनलाइन नक्सा पास, एकद्वार प्रणाली र फोहोरबारे जानकारी दिने अनलाइन एप लन्च गरेको छ । यसले महानगरपालिकालाई थप आधुनिकतातर्फ लैजाने मेयर महर्जनले बताए । महानगरपालिकाले सोमबारदेखि मात्रै ललितपुरको कुपण्डोलदेखि जावलाखेलसम्म इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको छ । 

रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण सक्न मेयरको अनुरोध 
बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण नसकिएको भन्दै मेयर चिरिबाबु महर्जनले प्रधानमन्त्री ओलीसमक्ष यथाशीघ्र काम अघि बढाइदिन अनुरोध गरे । उनले पुनर्निर्माण प्राधिकरण खारेज भइसकेपछि मन्दिर पुनर्निर्माण रोकिएको भन्दै तत्काल अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकषर्ण गराए ।

‘रातो मत्स्येन्द्रनाथ मन्दिर ८० प्रतिशत पुनर्निर्माण भइसकेको छ । तर, अन्य काम प्राधिकरण खारेज भएपछि रोकिएको छ । यो चाँडै सकिनुपर्‍यो,’ मेयर महर्जनले भने, ‘मन्दिर पुनर्निर्माणका निम्ति आवश्यक बजेट दिन महानगर तयार छ, तर म्याद थप्न नमिल्ने अवस्था रहेछ, यसअघि खरिद ऐनअनुसार मन्दिर पुनर्निर्माण गर्नु नपर्ने गरी ल्याइएको कार्यविधि पनि प्राधिकरणको खारेजीसँगै खारेज भएको छ । अब केका आधारमा मत्स्येन्द्रनाथ मन्दिरको बाँकी काम गर्ने हो, यसले ठुलो समस्या निम्त्याउन सक्छ ।’ 

उनले यसको गाँठो प्रधानमन्त्रीले नै फुकाइदिनुपर्ने बताए । रानीपोखरी र मत्स्येन्द्रनाथ मन्दिर एकै दिन पूनर्निर्माण सुरु भए पनि मत्स्येन्द्रनाथको काम रोकिनु बिडम्बना रहेको भन्दै सरकारले तत्काल चासो दिनुपर्ने उनले बताए । सरकारले सार्वजनिक खरिद ऐनअनुसार सम्पदा पुनर्निर्माण गर्दा मौलिकता तहसनहस हुने र समयमै काम नसकिने भन्दै पाँच वर्षअघि नै सम्पदा पुनर्निर्माणसम्बन्धी कार्यविधि तयार पारेको थियो ।