मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २१ बुधबार
  • Friday, 22 November, 2024
२o८१ कार्तिक २१ बुधबार १३:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विज्ञहरू भन्छन्– अव्यवस्थित क्रियाकलापले काभ्रेमा बाढी र पहिरोको क्षति बढ्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २१ बुधबार १३:५२:oo

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा अर्बौँको धनजनको क्षति भएको छ । काभ्रे जिल्लाको विशेष गरी रोशी खोलाको जलाधार क्षेत्रको बस्तीमा बाढी र पहिरोले बढी क्षति पुर्‍याएको छ। त्यस क्षेत्रको बाटोघाटो बगाएको छ। सार्वजनिक र व्यक्तिगत सम्पत्तिको क्षति भएको छ । विज्ञहरूका अनुसार मानव जातिको अव्यवस्थित क्रियाकलापले गर्दा बाढी र पहिरोबाट क्षति बढी भएको हो ।

बाढी र पहिरोपछि विज्ञहरूले बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । विज्ञहरूको समूहले पनौती नगरपालिकाको रोशी क्षेत्र, बेथानचोक गाउँपालिकाको बाढीग्रस्त क्षेत्र र रोशी गाउँपालिकाको बिपी राजमार्ग क्षेत्रमा अवलोकन गरेका थिए । अवलोकनमा मानिसको अव्यवस्थित क्रियाकलापले गर्दा बाढी र पहिरोले बढी धनजनमा क्षति पुर्‍याएको अनुमान छ ।

इन्जिनियरिङ जियोलोजिस्ट तथा फुल्चोकी क्याम्पसका उपप्राध्यापक प्रकाशचन्द्र घिमिरेका अनुसार प्रकृतिमा मानिसकाे अव्यवस्थित क्रियाकलाप बढेका कारण बाढी र पहिरोले बढी क्षति पुर्‍याएको हो । मानिसले अप्राविधिक तरिकाले बाटो निर्माण गर्नेजस्ता क्रियाकलापले गर्दा गत असोजको बाढीपहिरोको क्षति बढेको उनको भनाइ छ । ‘गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण रोशी खोलामा आएको बाढीले गरेको असरको हामीले अवलोकन गर्‍याैँ र केही यसको कारण र असरको मूल्यांकन पनि हामीले गर्‍यौँ,’ घिमिरेले भने, ‘चौकीडाँडादेखि नार्केसम्म जाँदाखेरि रोशी खोलामा परेको असर मुख्य कारण भनेको खोतल्ने र पुर्ने पायौँ । खोलाले खोल्दाखेरी बिपी राजमार्गको धेरै खण्डहरू खोलाले बगायो । त्यसभन्दा मुन्तिरको खेतीयोग्य जमिन पुरेको पायौँ । पुराना फाँटहरू, टारहरू खोतलेर बगरमा परिणत भएको पायौँ । खोलाले खोतल्ने र पुर्ने काम गर्दा हाम्रो भाैतिक संरचनाहरूमा क्षति पुगेको हामीले पायौँ ।’

रोशीको तल्लो भाग र माथ्लाे भाग फरक तरिकाले नोक्सान भएको पाएको घिमिरेले जानकारी दिए । माथिल्लो भागमा माथिबाट गेग्रान बगाएर ल्याएको कारण पुर्ने र खोतल्ने काम भएको र जसले गर्दा गेग्रान र पानी घाेलिएर आउँदा खोतल्ने र पुर्ने शक्ति बढी भएको उनको दाबी छ । इन्जिनियरिङविना जथाभावी बाटो खन्नाले पनि बाढीको प्रभाव बढेको उनको भनाइ छ । ‘बाटो खन्ने क्रममा मेसिनले ढुंगा–माटो अव्यवस्थित तरिकाले थुपार्‍याे, अत्यधिक वर्षाले गेग्रान बगाएर खोतल्ने र पुर्ने शक्ति बढाई क्षति बढी बनायो,’ उनले भने, ‘प्रकृतिलाई बदल्न सक्दैनौँ । तर, हामीले अव्यवस्थित क्रियाकलापलाई  व्यवस्थित बनाउन सक्छौँ । हामी त्यतातिर अग्रसर हुनुपर्छ ।’

त्यस्तै, विगत दुई दशकदेखि खानी सेक्टरको परामर्शदाताको रूपमा काम गर्दै आएका वातावरण इन्जिनियर तथा फुल्चोकी क्याम्पसका उपप्राध्यापक निरञ्जन श्रेष्ठ बाढी र पहिरोबाट विनाशको कारण प्राकृतिक र मानवीय कारण रहेको बताए । भूउपयोग योजना नभएको कारण बाढीले क्षति पुर्‍याएको उनको भनाइ छ । ‘भूउपयोगको निर्धारण छैन । बाढीग्रस्त स्थानमा बस्ती बसेको छ । त्यसले बढी क्षति भयो ।’ उनले भने, ‘विनाप्राविधिक सडक खन्ने कामले पनि विनाशमा बढवा दिएको छ । जथाभावी बाटो खनेर ढुंगा र माटो थुपारेका छौँ । वर्षातले त्यसलाई बगाउँदा खोला पुरिन्छ र खोला किनार खोतल्छ जसले गर्दा संरचनाहरूमा क्षति पुर्‍याउँछ ।’

वातावरणमैत्री क्रसर र खानी सञ्चालन नगरेको कारण पनि बाढी र पहिरोको क्षति बढेको उनले बताए । खानी र क्रसरबाट लाखौँ–करोडौँ आम्दानी गरेको हुन्छ । आम्दानीबाट निश्चित रकम सरकारले कर पनि लिएको हुन्छ । तर, त्यसमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि कुनै पनि रकम छुट्याएको नपाएको उनको भनाइ छ ।  काभ्रे जिल्लामा गत असोजको बाढी र पहिरोमा परी ७८ जनाले ज्यान गुमाए भने सयौँ घाइते भए ।