डाँडाबजारको कृषि मेलामा २५८ प्रजातिका बाली प्रदर्शन

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

धनकुटाको डाँडाबजारमा बृहत् कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। साँगुरीगढी गाउँपालिका– ५ ले डाँडाबजारमा आयोजना गरेको कृषि प्रदर्शनी मेलामा कृषकको उत्पादनलाई विभिन्न विधामा राखेर पुरस्कारका लागि मूल्यांकन गरिएको थियो।

नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली र दलहन बालीलाई छुट्टाछुट्टै विधामा राखी प्रदर्शन गरिएको थियो। गाउँ विकास कार्यक्रमका संयोजक भीमशंकर काफ्लेका अनुसार प्रदर्शनीमा वडाभित्रका दुई सय ५८ विभिन्न प्रजातिका बाली कृषकले ल्याएका थिए। एक सय ५२ प्रजातिका तरकारी, ५० प्रजातिका फलफूल, १९ प्रजातिका अन्न, २१ प्रजातिका मसला बाली र १६ प्रजातिका दलहन बाली राखिएको थियो। 

प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मूल्यांकन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई नगदसहित पुरस्कृत गरिएको थियो।

निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्न कृषकलाई प्रेरित गर्न कृषि मेला आयोजना गरिएको वडा नम्बर ५ का अध्यक्ष खड्ग थेगिम लिम्बूले बताए। निर्वाहमुखी र परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तर नउठ्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको धारणा छ। 
 

सुझावित समाचार