पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’बीच स्थानीय तहको चुनावदेखि बोलचाल थिएन । सत्ता गठबन्धनको केन्द्रीय नीति नमानेर स्थानीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका कांग्रेस र माओवादीबीच रहेको तिक्तता चुलिएर मुठभेटको अवस्थासमेत सिर्जना भएको थियो । तर, शीर्ष नेताले हस्तक्षेप गरेर गठबन्धनलाई मुठभेटबाट जोगाएका थिए । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बस्नेत र सापकोटासँग पटकपटक भेट गरेका थिए ।
आसन्न ४ मंसिरको चुनावका लागि जसरी पनि टिकट हात पार्ने रणनीतिमा रहेका दुवै नेताले सार्वजनिक मञ्चबाट एकअर्काको चर्को आलोचना गरे । जिल्लामा दुवै पार्टीका नेता, कार्यकर्ताबीच विवाद बढ्यो । सामाजिक सञ्जालमा अराजनीतिक टीकाटिप्पणी भए । टिकटका लागि गृहकार्य गरिरहेको शीर्ष तहले उम्मेदवार र क्षेत्र फाइनल गर्यो । ०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार अग्निप्रसाद सापकोटासँग बस्नेत पराजित भए थिए । त्यही आधारमा शीर्ष नेतृत्वले प्रतिनिधिसभा क्षेत्र नं. १ माओवादी केन्द्रलाई तोक्यो ।

टिकट नपाएपछि पूर्वमन्त्री बस्नेत पार्टी नेतृत्वसँग रिसाए । यद्यपि, राजनीतिक नेतृत्व सहनशील पनि हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै बस्नेत क्षेत्र परिवर्तन गरेर प्रतिनिधिसभा–२ का लागि तयार भए । उम्मेदवार दर्ता गर्ने दिनसम्म पनि दुवै नेताबीच विवाद कायमै थियो । उनीहरुबीच बोलचालको सुरुवात हुन सकेन । उम्मेदवारी दर्ता गर्दा बस्नेत डेंगी संक्रमणबाट बिरामी थिए । माओवादी र कांग्रेस नेताबीच उम्मेदवारी दर्ता गरेको चार दिनसम्म संवाद सुरु भएन । गठबन्धन दलबीच विवाद कायमै रहँदा एमाले उम्मेदवारहरु गाउँ छिरिसकेका थिए ।
राजनीति सम्भावनाको खेल हो भन्ने कुरालाई पुष्टि गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटा र पूर्वमन्त्री बस्नेतबीच संवाद सुरु भयो । दुवै क्षेत्रमा चुनावी अभियान सशक्त बनाउने सहमति भयो । विपक्षी उम्मेदवारले गठबन्धनमा समस्या रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला पूर्वमन्त्री बस्नेतको घरमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार माधव सापकोटालाई स्वागत गरिएको छ ।
बाह्रबिसे नगरपालिका मेयरसमेत रहेका कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा पूर्वमन्त्रीको गाउँ सानोपलाँतीमा सापकोटालाई भोजसहित स्वागत गरिएको हो । सानोपलाँती बस्नेतहरुको गाउँ हो । जहाँ एक हजारभन्दा बढी बस्नेत समुदाय बसोबास गर्छन् । क्षेत्र नं. २ मा माओवादी नेता, कार्यकर्ताले बलियो साथ दिएकोले बस्नेतले क्षेत्र नं. १ मा पनि माओवादी उम्मेदवार सापकोटालाई बलियो साथ दिन निर्देशन दिएका हुन् । सिन्धुपाल्चोकमा गठबन्धनका बस्नेत र सापकोटासँग एमालेका सरेश नेपाल र शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।