मुटुरोग जन्मजात पनि हुन सक्छ । वयस्क उमेरमा पनि हुन सक्छ । वंशानुगत कारणले पनि निम्तिन सक्छ । धेरैमा ४० देखि ४५ वर्ष कटेपछि समस्या देखिने गरेको पाइन्छ । मुटुको नसाहरूमा लेयर जम्मा भएर कालान्तरमा नसा ब्लक हुने, हृदयाघात हुने समस्या देखिन सक्छ । उच्च रक्तचाप, मधुमेह भएका व्यक्ति यस रोगको विशेष जोखिममा हुन्छन् ।
मस्तिष्कघात हुने, किड्नी फेल हुने, मुटुबाट निस्केका ठूला–ठूला धमनी कहिलेकाहीँ फुटेर वा सुन्निएर आउने हुन्छ । जसले गर्दा जटिल समस्या निम्तिन सक्छ । चिसोले मुटुका नलीहरू खुम्चिने भएकाले गर्मीको दाँजोमा जाडो मौसममा बिरामीको संख्या धेरै देखिने गरेको छ । यस मौसममा लापरवाही गरियो भने पहिले रोग लागेर निको भइसकेका व्यक्तिमा फेरि यो रोग बल्झिने जोखिम हुन्छ ।
लक्षण
जन्मजात मुटुरोग भएका बच्चामा तौल नबढ्ने, आमाको दूध राम्रोसँग खान नसक्ने, घ्यारघ्यार हुने, रुघाखोकी धेरै लाग्नेलगायत समस्या देखिन्छ । उनीहरूको हात, मुख, ओठ, औँला नीलो देखिन्छ । वयस्कमा छातीको देब्रेपट्टि दुख्ने र स्वाँ–स्वाँ हुने गर्छ । मुटु ढुकढुक भएको महसुस हुने तथा हातगोडा सुन्निने हुन्छ ।
बच्ने उपाय
अत्यधिक चिसो भएका वेला घरबाहिर ननिस्किने । चिसोमा मर्निङवाक गर्दा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले इभिनिङ वाक गर्न सकिन्छ । नियमित व्यायाम गर्ने, मद्यपान तथा धूम्रपान नगर्ने, कार्बोहाइड्रेट र फ्याट कम भएका खाना खाने, नुन, चिनीको मात्रा कम गर्ने । नुन, चिनीजन्य खाना कम गर्ने, रातो मासु कम खाने । समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्ने ।