बिचौलियाकै हातमा हाटबजार, कृषक र उपभोक्ता सधैँ मारमा

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

किसानले अझै पनि उत्पादनअनुसारको मूल्य र बजार पाएका छैनन् । बजारमा व्यवासायी चोकअनुसार मनलाग्दी मूल्य गर्छन् । कृषि उत्पादनको मूल्य उत्पादकबाट उपभोक्तासम्म पुग्दा ५० प्रतिशतले बढ्छ । जसका कारण कृषक र उपभोक्ता सधैँ बिचौलियाको मारमा छन् । सरकारले कृषि उत्पादनको बजार र मूल्यको ग्यारेन्टी गर्न सकिरहेको छैन । सरकारीस्तरबाट सञ्चालन भएका योजनाहरू र संयन्त्रहरू दीर्घकालीन र गुणस्तरीय छैनन् । 

रेसुंगा नगरपालिकासँग दीर्घकालीन योजना नहुँदा हाटबजारको त्यही अवस्था रहेको छ । सात महिनादेखि बन्द भएर पार्किङस्थल बनेको हाटबजार अहिले फेरि सञ्चालन आएको छ । खोल्ने र बन्द गर्ने नगरको मजाकसँग उपभोक्ताको नयाँ आशा छैन । उत्पादक र उपभोक्ताबीचको मूल्य कम गरेर बिचौलियाको अन्त्य र कृषि उत्पादनको बजारीकरणको पूर्ण ग्यारेन्टी गर्न हाटबजार सञ्चालन गरिएको हो । हाटबजारका लागि विभिन्न तह र निकायको दुई करोडभन्दा बढीको खर्च भएको छ । 

०७५ सालबाट सञ्चालनमा आएको आधुनिक हाटबजार सुरुमा नगर आफैँले सञ्चालन गर्‍याे । हाटबजार सञ्चालन भएपछि केही समय कृषक निकै उत्साहित भए । नगरकै गाडी गाउँ पुगेर कृषि उत्पादन खरिद गर्न थाल्यो । स्वयं किसानले पनि व्यवसायीलाई बिचौलिया भनेर आलोचना गर्न थाले । तर, नगरले दीर्घकालीन रूपमा हाटबजार सञ्चालन गर्न सकेन । पटक–पटक हाटबजार बन्द पनि हुँदै आयो । 

व्यवसायीले नै हाटबजार सञ्चालन गर्दै

सञ्चालन गर्न नसकेर दुईपटक बन्द भएपछि रेसुंगा नगरपालिकाले तरकारी तथा फलफूल व्यवसायी संघलाई हाटबजार सुम्पेको छ । संघका अध्यक्ष धनबहादुर रानाले तत्काल शनिबार मात्रै र निर्वाचनपछि दैनिक हाटबजार सञ्चालन गर्ने बताए । उत्पादकबाट कृषि वस्तु उपभोक्तासम्म पुर्‍याउन  कोही न कोही मध्यस्थकर्ता आवश्यक पर्ने भएकाले बीचमा कमिसन खाएर काम गर्ने व्यवसायीलाई बिचौलिया भन्नु ठूलो कुरा नभएको बताए । ‘सुरुमा बिचौलिया भने, व्यवसायीले टुलुटुल हाटबजार हेरेर बसियो । अहिले आफैँले काम गर्दै छौँ,’ उनले भने, ‘धेरै बेच्ने र कम नाफा कमाउने उद्देश्यले हाटबजार सञ्चालन गरेका छौँ ।’ हाटबजार सञ्चालन गर्ने तरकारी तथा फलफूल व्यवसायीका आफ्नै व्यवसाय छन् ।  तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष राना आफैँले स्वाभाविक रूपमा हाटबजारमा भन्दा व्यवसायीको पसलमा १०–१५ रुपैयाँ बढी मूल्य पर्ने बताउँछन् । 

दीर्घकालीन योजना नहुँदा पटक–पटक बन्द

कृषि कर्मलाई प्रोत्साहन गर्ने, कृषकलाई उत्पादनको उचित मूल्यसहित बजारीकरणमा टेवा पुर्‍याउने तथा उपभोक्तालाई कम मूल्यमा गुणस्तरीय कृषि उत्पादनको उपयोगका निम्ति हाटबजार सञ्चालन गरिएको हो । तर, हाटबजारको ठोस योजना नहुँदा सञ्चालनमा चुनौती देखिएको अगुवा कृषक विनोद कुँवरले बताए । हाटबजार व्यवसायीलाई दिएपछि नगर र व्यवसायीलाई केही फाइदा भए पनि किसान र उपभोक्तालाई केही नहुने कुँवरले बताए । 

‘सुरुमा व्यवसायीलाई बिचौलिया भन्दै कृषि उत्पादन बोकेर हाटबजार पुग्ने हामी नै हो । अहिले उनीहरूकै हातमा हाटबजार पुग्यो,’ उनले भने, ‘किसानका लागि खास दीर्घकालीन योजना भएनन्, नगर र व्यवसायीले आफ्नो मात्रै फाइदा हेरे ।’ उनले अझै पनि कृषकको कृषि उत्पादनको मूल्य नदिने, तर बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने प्रवृत्ति भएकाले केही आशा नभएका बताए ।

नगर र संघबीच दुईवर्षे सम्झौता  
रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमका अनुसार नगर र संघबीच दुई वर्षका लागि सञ्चालनको सम्झौता भएको छ । त्यसबापत संघले सुरुको दुई महिना निःशुल्क, त्यसपछिको चार महिना प्रतिमहिना २० हजार र त्यसपछिको प्रतिमहिना ४० हजारका दरले संघले नगरपालिकालाई भाडा बुझाउने सहमति भएको गौतमले जानकारी दिए । हाटबजारको बिजुली र पानीको शुल्क भने तरकारी तथा फलफूल व्यवसायी संघल व्यहोर्नुपर्नेछ । गौतमले आफूहरू पनि पर्ख र हेरको स्थितिमा रहेकाले छोटो अवधिको सम्झौता गरिएको बताए । 

वर्तमान र पूर्वमेयरका आ–आफ्नै तर्क
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले हाटबजार सञ्चालनको जिम्मा तरकारी तथा फलफूल व्यवसायी संघलाई दिए पनि नगरपालिकाले नियमित अनुगमन गरेर समस्या सुधार गर्ने बताए । निजी क्षेत्रको प्रवेशले कृषक र उपभोक्तालाई कुनै समस्या नपर्ने गरेर सहजीकरण गरिने पन्थीको भनाइ छ । पूर्वमेयर डिल्लीराज भुसालले नगरपालिकाले व्यवसायीलाई हाटबजार सञ्चालन गर्न दिएकोप्रति आपत्ति जनाए । उनले आफूहरूले किसान र उपभोक्तालाई नजिक बनाउने उद्देश्यले हाटबजार सञ्चालन गरे पनि वर्तमान नगर नेतृत्वले हाटबजार व्यवसायीलाई बिक्री गरेको आरोप लगाए । किसान र उपभोक्ताको बीचमा व्यवसायी उभिएपछि हाटबजार सञ्चालनको मर्म गुमेको भुसालले गुनासो गरे । 

See More On

सुझावित समाचार