‘बैँसमा जति फुर्ती गरे पनि बुढेसकालमा एमालेको लौरो टेकेर हिँड्नुपर्छ\'

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको जेष्ठ नागरिक भत्ता नै बुढेसकालको सहारा भएको बताएका छन्। 

निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत दमकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भत्तालाई समयअनुकूल र महँगीको अनुपातमा वृद्धि गरिने आश्वासन दिए।

‘बैँसमा जति फुर्ती गरे पनि बुढेसकालमा एमालेको लौरो टेकेर हिँड्नुपर्छ,’ ओलीले भने, ‘एमालेको जेष्ठ नागरिक भत्ता नै सहारा हो। हामी भत्ता समायअनुकूल र महँगीको अनुपातमा बढाउँदै जानेछौँ।’ 

ओलीले देशभर एमाले प्रवेशको लहर चलिरहेको बताए। अन्य पार्टीहरूमा पहिरो गइरहेको उनको दाबी थियो। उनले अहिले एमालेसँग प्रतिस्पर्धा गर्नेहरूपछि एमालेमै आउने दाबी गरे। ‘एमालेसँग लडे पनि पछि एमालेमा नआएर धर नै छैन। देश बनाउने भए एमाले नआए उपाय नै छैन। 

एमाले विरुद्धमा उम्मेदवार भएका व्यक्तिहरू एमालेमै प्रवेश गर्नुहुनेछ,’ ओलीले भने, ‘यो लहर यहाँ मात्र हैन देशभर छ। अरू पार्टीमा थाम्नै नसक्ने पहिरो गएको छ। यता ढुंगा थुपार्न खोज्दा अर्कोतिरबाट पहिरो जान्छ। अरू पार्टी डिलमाथि भएजस्तो खुत्रुक्क हुनेबित्तिकै लडिहाल्ने भएका छन्।’ 

ओलीले एमालेबाहेकसँग देश बनाउने, संगठन चलाउने नीति नभएको टिप्पणी गरे। क्रान्ति र परिवर्तनका लागि युद्ध लडेकाले केही पनि नपाएको दाबी गरे। 

‘क्रान्ति र परिवर्तनको नाममा उचालेर, भड्काएर १७ हजार मानिस मराएको देख्यौँ । प्राप्ति के भयो ? उपलब्धि के भयो ? कार्यकर्ताहरू क्रान्तिको सपना देखेर ज्यान दिन तयार भए। महान जनयुद्ध भनियो, होमिए । तर, त्यसको अन्त्य के भयो ?’ ओलीले भने, ‘सहिदका परिवार र बालबच्चा के गर्दै छन्? घाइतेहरू के गर्दै छन्? उनीहरू ह्विलचियरमा छन्। कसले हेर्दै छ? उनीहरूको जीविका चलेको छ कि छैन? एमालेले अशक्तलाई भत्ता र सुविधान दिने परिपाटी सुरु गरेको छ। जसले युद्ध मच्चायो उही दुईपटक प्रधानमन्त्री हुँदा के गरे ? अहिले पनि गठबन्धनमा छन्। केही गरेनन्।’

उनले एमालेले चुनावमा अत्यधिक बहुमतले नल्याए देश बर्बादीतर्फ जाने बताए। ओलीले सब पार्टीका कार्यकर्तालाई भ्रममुक्त भएर एमालेमा आउन आग्रह गरे। उनले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई पनि घर फर्किन आग्रह गरे। नेकपा (एस) पार्टी नै नभएको टिप्पणी गरे। 

‘एस भन्ने त पार्टी नै हैन। माधव नेपालले अलिअलि चित्त नबुझेका, मनमुटाव भएकाहरू, कतै धाँजो फाटेको ठाउँमा फेसा ठोकेर एकाध मान्छे लिँदै पार्टी भनेर बनाएका छन्,’ उनले भने, ‘यो एमाले सिध्याउने खेल हो। त्यसको अवसान मंसिर ४ गते हुन्छ। त्यहाँ एक-दुईजना बाँकी हुनुहुन्छ। एमाले आफ्नो पार्टी हो फर्कनुस्।’
 
 

सुझावित समाचार