नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भूपरिवेष्ठित मात्र नभई भूजडित देश भएको बताएका छन्। उनले अब कतैबाट पनि नेपाल ‘लक’ नभएको दाबी गरे।
मंगलबार झापा क्षेत्र नम्बर २ को चुनावीसभालाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा चीन र भारतसँग भएको सम्झौताले नेपाल जताबाट पनि समुद्रको पहुँचमा पुगेको बताए।
‘म पहिलोपटक नौ महिना प्रधानमन्त्री हुँदा नाकाबन्दीको डटेर सामना गरेँ। नाकाबन्दी खुलाएँ। दक्षिणको धुमधाम भ्रमण गरियो। थप बाटाहरू बनाइयो,’ ओलीले भने, ‘उत्तरमा रहेको छिमेकीसँग पारबहन र यातायात सम्झौता गरेर नेपाललाई एउटा देशबाट मात्र घेरिएको अवस्थाबाट दुईतिरबाट बाटो खोलियो। अब नेपाल कतैबाट लक छैन। ताला लागेको छैन। त्यसैले हामीले भन्यौँ– नेपाल भूपरिवेष्ठित मात्र हैन भूजडित मुलुक हो। जमिनबाट जहाँबाट पनि समुद्रसम्म पुग्न सक्छौँ। कसैले रोक्न सक्दैन।’
ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका, विचार, संगठन र कार्यक्षमताको हिसाबले एमाले देशको प्रमुख पार्टी भएकोसमेत बताए। ओलीले सत्तागठबन्धनलाई आपराधिक गठबन्धनको संज्ञा दिए।
‘एकातिर सत्ता स्वार्थका लागि स्वाधीनता जेसुकै होस् राष्ट्रिय आत्मसमर्पणको नीति लिएर, गठबन्धन बनाएर, देश लुटेर खाने गठबन्धन छ। अर्कोतिर एमालेको अगुवाइमा देशभक्त र राष्ट्रवादी धारले तालमेल गरेको छ,’ ओलीले भने, ‘आपराधिक गठबन्धनविरुद्ध स्वभिमानको प्रतिनिधित्व गर्ने तालमेलका रूपमा बुझ्नुहोला!’
ओलीले एमालेले प्रत्यक्ष र समानुपातिकमा गरेर कम्तीमा एक सय ५० सिट जित्ने दाबी दोहोर्याए। यसका लागि एमालेले बनाएको घोषणापत्र लिएर जनताका घरघरमा जान कार्यकर्तालाई निर्देशन दिए।