टी–२० विश्वकपमा लिटलको ह्याट्रिक

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण

जोस लिटलले ३ विकेटको योगदान गरे पनि समूह १ मा आयरल्यान्डलाई ३५ रनले हराउँदै न्युजिल्यान्ड तेस्रोपटक सेमिफाइनलमा

साबिक उपविजेता न्युजिल्यान्ड लगातार तेस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्डले शुक्रबार आयरल्यान्डलाई ३५ रनले हराउँदै सपुर १२ अन्तर्गत समूह १ बाट अन्तिम चारको स्थान पक्का गरेको हो । आयरल्यान्डले पाँच खेलबाट सर्वाधिक सात अंक जोडेको छ । यसै समूहमा अस्ट्रेलियाले पनि सातै अंक जोडेको छ ।

तर, रन रेटमा न्युजिल्यान्डले अस्ट्रेलियालाई पछि पा¥यो । समूह १ मा न्युजिल्यान्डको रनरेट २.११ रहेको छ । अस्ट्रेलियाले शुक्रबारै अफगानिस्तानमाथि चार रनको जित निकालेको थियो । अस्ट्रेलियाको रनरेट न्युजिल्यान्डको भन्दा धेरै कम छ । अस्ट्रेलिया अन्तिम चारमा पुग्न इंग्ल्यान्डको नतिजा कुर्नुपर्छ । इंग्ल्यान्डले आफ्नो अन्तिम खेलमा जित निकाल्दा पनि अन्तिम चारमा पुग्नेछ । इंग्ल्यान्डले पनि अस्ट्रेलियालाई रनरेटमा पछि पारेको अवस्था छ । न्युजिल्यान्ड र अस्ट्रेलियाले आ–आफ्नो खेलमा जित निकाल्दा पूर्वविजेता श्रीलंकाको सेमिफाइनल पुग्ने आशा समाप्त भएको छ । श्रीलंकाले अन्तिम खेलमा जित निकाल्दा पनि ६ अंक हुनेछ, जुन अस्ट्रेलियाको भन्दा एक अंकले पछि हुनेछ । 

विश्वकपमा ह्याट्रिक लिने ६ बलर 

१. ब्रेट ली : अस्ट्रेलिया (२००७)
सन् २००७ को पहिलो संस्करण दक्षिण अफ्रिकामा भएको थियो । यस विश्वकपमा धेरै रेकर्ड बने । क्रिकेटको छोटो फर्म्याटमा ह्याट्रिक प्रदर्शन गर्ने अवसर कमै मात्र हुन्छ । अस्ट्रेलियाका फास्ट बलर ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक गर्दै इतिहास बनाएका थिए । उनी विश्वकपमा मात्र नभएर समग्र टी–२० फर्म्याटकै पहिलो ह्याट्रिक लिने बलरसमेत हुन् । विश्वकपको पहिलो संस्करणमा लीले बंगलादेशविरुद्ध सफलता प्राप्त गरेका थिए । लीले सकिब अल हसन, मसराफे मोटाजा तथा आलोक कपालीलाई लगातार बलमा आउट पार्दै ह्याट्रिक प्रदर्शन गरे । 

२. कागिसो राडवा : दक्षिण अफ्रिका (२०२१)
गत वर्षको संस्करणमा दक्षिण अफ्रिकाका राडवाले इंग्ल्यान्डसँगको प्रतिस्पर्धामा ह्याट्रिक लिए । यस खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । राडवाले क्रिस वर्कस, इयोन मोर्गान तथा क्रिस जोर्डानको विकेट लिँदै ह्याट्रिक प्रदर्शन गरे ।

३. जोस लिटल : आयरल्यान्ड (२०२२)
न्युजिल्यान्डविरुद्धको खेलमा आयरल्यान्डका जोस लिटलले ह्याट्रिक प्रदर्शन गरे । उनले इनिङ्सको १९औँ ओभरमा ह्याट्रिक प्रदर्शन गरेका थिए । इनिङ्सको १८.२ ओभरमा लिटलले केन विलियम्सलाई क्याच आउट गराए । १८.३ ओभरमा लिटलले जेम्स निसमलाई एलबिडब्लूको धरापमा राखे । १८.४ ओभरमा मिचेल साटनरलाई उनले एलबिडब्लू धरापमा राख्दै ह्याट्रिक ओभर गरे । टी–२० विश्वकपमा यो छैटौँ ह्याट्रिक हो ।

४. कर्टिस क्याम्फेर : आयरल्यान्ड  (२०२१)
सन् २००७ पछि एकैपटक गत वर्ष युएईमा भएको विश्वकपमा ह्याट्रिक प्रदर्शन देखियो । दोस्रोदेखि छैटौँ संस्करणसम्म कुनै पनि बलरले ह्याट्रिक लिन सकेनन् । आयरल्यान्डका क्याम्फेरले विश्वकपमा लगातार चार बलमा विकेट लिएको रेकर्ड राखे । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा कोलिन अक्रेम्यान, रायल टेन डोस्च, स्कट एडवाड्स तथा रोएलोफ भान डेरलाई लगातार चार बलमा आउट पार्दै कीर्तिमान राखे । 

५. वारिन्दु हसारंगा : श्रीलंका (२०२१)
सन् २०२१ को विश्वकपमा श्रीलंकाका वारिन्दुले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ह्याट्रिक लिए । वारिन्दुको ह्याट्रिक प्रदर्शनका बाबजुद श्रीलंकाले दक्षिण अफ्रिकालाई हराउन सकेन । वारिन्दुले एडेन माक्राम, टेम्बा बाभुमा तथा डवाने प्रिटोरिसलाई आउट पारे । उनी विश्वकपकै तेस्रो ह्याट्रिक लिने खेलाडीमा पर्छन् । 

६. कार्तिक मेयाप्पान : युएई (२०२२)
चालू विश्वकपमा पहिलो ह्याट्रिक लिने बलर युएईका कार्तिक हुन् । सपुर १२ प्रवेश गर्ने छनोट चरणको प्रतिस्पर्धामा युएईले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यस खेलमा कार्तिकले श्रीलंकाका तीन ब्याट्सम्यानलाई लगातार बलमा आउट पारे । उनले भानुका राजापाक्ष, चारिथ असालांका तथा सनाकालाई क्रमशः बलमा पेभेलियन पठाए । 

अहिलेसम्मका रेकर्ड

सर्वाधिक रन : विराट कोहली (भारत)
खेल : चार, रन २२०

चालू विश्वकपमा भारतका पूर्वकप्तान विराट कोहली उत्कृष्ट फर्ममा छन् । कोहलीले चारमध्ये तीन खेलमा अर्धशतकीय इनिङ्स खेलेका छन् । तीनपटक नटआउट रहेका कोहलीले दुई सय २० रन जोडेका छन् । कोहलीले १९ चौका र सात छक्का प्रहार गरेका छन् । कोहलीले पाकिस्तान, बंगलादेश र नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दा उनले उत्कृष्ट ८२ रनको योगदान दिए ।

धेरै विकेट : वानिन्दु डी सिल्भा (श्रीलंका)
खेल : सात, १३ विकेट 

श्रीलंकाका अलराउन्डर डी सिल्भा अस्ट्रेलियामा चलिरहेको विश्वकपमा धेरै विकेट लिने सूचीको शीर्ष स्थानम आफूलाई उभ्याएका छन् । छनोट तथा सुपर १२ गरी डी सिल्भाले सात खेल खेलेका छन् । उनले सात खेलमा सर्वाधिक १३ विकेट हात पारेका छन् । उनले अफगानिस्तानविरुद्ध आठ रन खर्चेर तीन विकेट लिएका थिए । एक सय ७६ बल फ्याँकेका डी सिल्भाले एकपटक मेडन ओभर गरेका छन् ।  

सर्वाधिक छक्का : सिंकन्दर राजा (श्रीलंका)
खेल : सात, ११ छक्का

सुपर १२ को समूह २ मा रहेको जिम्बावे प्रतियोगिताबाट बाहिरिएको छ । तर, जिम्बावेका सिकन्दर राजा छक्का प्रहार गर्ने सूचीमा अगाडि छन् । सात खेलमा राजाले सर्वाधिक ११ छक्का प्रहार गरेका छन् । राजाले सात खेलमा सातै इनिङ्स ब्याटिङ गर्दै एक सय ८५ बल खेलेका छन् । उनले एकपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । प्रतियोगितामा राजाको उच्चतम स्कोर नै ८२ हो ।  

धेरै चौका : म्यास ओ डोउड (नेदरल्यान्ड्स)
खेल : सात, २१ चौका

नेदरल्यान्ड्सले छनोट चरण पार गरी विश्वकपको सुपर १२ मा स्थान बनाएको हो । समूह २ मा नेदरल्यान्ड्सको सेमिफाइनलमा पुग्ने सबै आशा समाप्त भइसकेको छ । तर, नेदरल्यान्ड्सका ब्याट्सम्यान म्यास ओ डोउडले अहिलेसम्म एउटा कीर्तिमान राखेका छन् । उनले सात खेलमा सर्वाधिक २१ चौका प्रहार गरेका छन् । उनको ब्याटिङ औसत ३५.५० रहेको छ ।  

एक खेलमा धेरै छक्का : रिले रोसोउ (दक्षिण अफ्रिका)
खेल : बंगलादेशविरुद्ध, आठ छक्का

रिलेले बंगलादेशविरुद्ध विश्वकपमा आफ्नो पहिलो शतकीय इनिङ्स खेलेका थिए । चालू विश्वकपमा एकै खेलमा धेरै छक्का प्रहार गर्ने उनले यस खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान रिले नै हुन् । उनले बंगलादेशविरुद्ध आठ छक्का प्रहार गरेका थिए । ५६ बल सामना गरेका रिलेले सात चौका पनि ठोके । दोस्रो स्थानमा अस्ट्रेलियाका स्टोनिस छन् ।  

फराकिलो जितअन्तर : दक्षिण अफ्रिका–बंगलादेश
दक्षिण अफ्रिका १०४ रनले विजयी

सुपर १२ को समूह २ मा दक्षिण अफ्रिका र बंगलादेशबीचको नतिजाले रेकर्ड बनाएको छ । यस खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि एक सय चार रनको फराकिलो जित हात पारेको थियो । सिड्नी मैदानमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर दुई सय पाँच रन बनाएको थियो । बंगलादेश १६.३ ओभरमा एक सय एक रनमा अलआउट भयो । यस खेलमा दक्षिण अफ्रिकाका आन्रिक नोटजेले ३.३ ओभरमा १० रन खर्चेर चार विकेट हात पारे ।

सुझावित समाचार