मुसहर बस्तीमा महन्थलाई प्रश्न- पाँच वर्षसम्म कहाँ हराउनुभयाे ?

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

महोत्तरी ३ का प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार लोसपा अध्यक्ष महन्थ ठाकुर घरदैलोमा जाँदा स्थानीय बासिन्दाले पुरानै गुनासो व्यक्त गरेका छन्। 

बिहीबार घरदैलोका क्रममा ठाकुर मटिहानी नगरपालिका– ९ सिमरदहीमा पुगेका थिए। मुसहर बस्तीमा पुगेका उनलाई पाँच वर्षसम्म कहाँ जानुभयो भन्दै स्थानीयले प्रश्न गरेका थिए। 

हरेक वर्ष बाढीको समय बस्तीमै पानी पसेर हैरान भएको र दुःखको वेला ठाकुर नभेटिएको मुसहर समुदायको गुनासो थियो। 

उनीहरूले यसबीचमा कुनै राहत र बाढीको स्थायी समाधान नपाएको पनि गुनासो गरे । उनीहरूले बिजुलीको पोल पुगे पनि बिजुली उपभोग गर्न नसकेको गुनासो गरे। 

अध्यक्ष ठाकुरले उनीहरूको समस्या समाधानका लागि प्रयास गर्ने आश्वासन दिएका छन्। ठाकुरले ब्रह्मस्थान, महारानीस्थानलगायतका मठमन्दिर र गेट निर्माणलगायतमा समय र पैसा खर्चेको स्थानीयको गुनासो छ। उनीहरूले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा योगदान दिन माग गरेका छन् 

सुझावित समाचार