नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरूमाथि खबरदारी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा मतदाताको मत किन्ने खराब मनोवृत्ति भएकाहरूप्रति आक्रोश व्यक्त गरे।
राजधानीमा विवेकी मतदाता रहेको भन्दै नेता पौडेलले यहाँ कसैले पनि मतदाताको मत र विवेक किन्न नसक्ने दाबी गरे। आफ्नो क्षेत्रमा चेतना बोकेका मान्छे बसेकाले मत किन्ने कुनै कोसिसलाई पनि मतदाताले सफल हुन नदिने बताए।
‘यो राजधानी हो, यहाँ भोट किन्न पाइँदैन। मान्छेको विवेक किन्ने पिपासुहरू, मान्छेको विचार किन्न पनि पछि नपर्ने अहंकारीहरू यही काठमाडौंमा भेटिन्छन्,’ उनले भने, ‘तर, उनीहरूको प्रयास सफल हुँदैन। यो विवेक बोकेका मान्छेहरूको बस्ती हो। यो चेतना बोकेका मान्छेहरू बसेको ठाउँ हो। यो देशलाई सन्देश दिने ठाउँ हो।’
नेता पौडेलले पार्टीको आन्तरिक चुनावको प्रतिस्पर्धालाई चुनावका वेला ल्याएर मत र मन विभाजन गर्न खोजिएको भन्दै त्यसलाई चिरेर अघि बढ्ने बताए।