माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए। राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको भन्दै उनले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने प्रस्ट पारे।
‘अब यो राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य सर्त छ। यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ, आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन। त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ,’ उनले भने।
नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जान सक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको उनको भनाइ छ।