सरकारले ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने आश्वासनपछि हिमालय एयरलाइन्स भैरहवाबाट उडान गर्न तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौंमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवा विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ अनुमति दिने आश्वासन दिएको एयरलाइन्सले जनाएको छ । सो आश्वासन पाएसँगै हिमालयले १७ कात्तिकदेखि भैरहवाबाट मलेसिया चार्टर उडान गर्न क्यानमा अनुमति मागेको छ । नेपाल र मलेसियाको नियामक निकाय तथा अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र पाएपछि हिमालयले उडान सञ्चालन गर्नेछ ।
एयरलाइन्सले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरुमा भैरहवा–क्वालालम्पुर सेक्टरमा उडान गर्नेछौँ, भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएपछि भैरहवाबाट अन्य गन्तव्यमा पनि उडान विस्तार गरिनेछ ।’ हिमालयले छिट्टै ग्राउन्ड ह्यान्डलिङको अनुमति पाउने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तर, सेल्फ र कमर्सियल ग्राउन्ड ह्यान्डलिङको विषय भने उनले खुलाएनन् ।
अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै काठमाडौं र भैरहवा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवालाई प्रतिस्पर्धी, चुस्त र दुरुस्त बनाउन नयाँ वैकल्पिक कम्पनी स्थापित गर्न लागेको क्यानको भनाइ छ । ‘हिमालयले दुई वर्षअघि नै ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएको थियो, तर कोभिडलगायत विविध कारणले तत्काललाई रोकिएको हो’ प्रवक्ता निरौलाले भने, ‘अब छिट्टै ग्राउन्ड ह्यान्डलिङ अनुमति दिन्छौँ ।’ हिमालयले दुई वर्षदेखि नै ग्राउन्ड ह्यान्डलिङ सेवाका लागि तयारीसमेत गरिरहेको छ । आपूmहरूले छिट्टै ग्राउन्ड ह्यान्डलिङको अनुमति पाउने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले विश्वास व्यक्त गरे ।
सोमबार उड्डयन क्षेत्रसँग सम्बन्धित निकायका उच्च अधिकारी सहभागी भएको बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले ग्राउन्ड ह्यान्डलिङ सेवामा विकल्प तयार गर्न भनेका थिए । अत्यावश्यक सेवा प्रवाहमा एउटा मात्र कम्पनीको भर परेर नहुने बताउँदै त्यसको भरपर्दो विकल्प पनि चाहिने उनको भनाइ थियो । हिमालयको उडान संख्याअनुसार उसलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिन कुनै समस्या नरहेको निरौलाको भनाइ छ ।
अहिले एउटा मात्रै कम्पनीले ग्राउन्ड ह्यान्डलिङका काम गर्दा सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धा गराउनसकेमा सेवा प्रभावकारी हुनुका साथै शुलभ पनि हुने क्यानको विश्वास छ । ग्राउन्ड ह्यान्डलिङ सेवा निगमको प्रमुख आम्दानीको स्रोत हुँदै आइरहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङबाट कमाइरहेको हुँदा वायुसेवा सञ्चालनमा त्यति चासो नदेखाउने गरेको पनि आरोप लाग्दै आइरहेको छ ।
एनएसीको फितलो सेवाकै कारण पनि ग्राउन्ड ह्यान्डलिङमा अर्को कम्पनी भित्र्याउनु जरुरी रहेको हवाईविज्ञ बताउँछन् । ‘हामीले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न लागिरहेका छौँ । भैरहवाबाट हुने उडानले अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपालको कनेक्टिभिटी अझ राम्रो हुने विश्वास छ,’ उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्रिय गौरव हो । यो विमानस्थलले देशको धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने भएकाले हामी सबैले हातेमालो गर्नुपर्छ ।’