सेयर बजारमा हरियाली, नेप्से ५६ अंकले बढ्यो

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६.१० अंकले बढेर एक हजार नाै सय ३०.९७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.०४, फ्लोट इन्डेक्स २.८३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.११ प्रतिशतले बढेको छ।

मंगलबार कारोबारमा आएका दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता सेयर एक अर्ब २९ करोड ६६ लाख ४ हजार ६ सय ४२ रुपैयाँबराबरमा कारोबार भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

यस दिन नेप्सेका सबै उपसमूह सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५.५ प्रतिशतले बढ्दा अन्य ५.२८, व्यापार ४.५६, हाइड्रोपावर ४.३७, र लगानी ४.१७ प्रतिशतले बढेको छ। विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी तथा बैंकिङ, होटेल तथा पर्यटन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा धेरै बढेको छ।
 

सुझावित समाचार