कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ । त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरू सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्वायर, भेन्टिलेटर एसोसिएटेट निमोनियालगायत निमोनियाका धेरै प्रकार हुन्छन् ।
कस्ता व्यक्ति जोखिममा ?
निमोनियाको जोखिम रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा ज्यादा हुन्छ । बालबालिका, बढी उमेरका व्यक्ति तथा दीर्घरोगीहरूको प्रतिरोधी क्षमता कम हुन्छ । चुरोट खाने, धुवाँधुलोमा काम गर्ने व्यक्तिहरू पनि निमोनियाको जोखिममा हुन्छन् । त्यस्ता व्यक्तिको फोक्सोमा ‘सेल्फ क्लियरेन्स मेकानिजम ह्याम्पर’ हुन्छ । भित्रभित्रै फोक्सो ड्यामेज हुन सक्छ ।
निमोनियाको असर
हाम्रो शरीरमा दाहिने र देब्रे गरी दुईवटा फोक्सो हुन्छन् । फोक्सो राम्रो अवस्थामा छ भने श्वासप्रश्वासमा समस्या हुँदैन । तर, फोक्सोमा संक्रमण भयो भने समस्या देखिन्छ । संक्रमण बढ्दै गएर निमोनिया हुन सक्छ । रगतमार्फत निमोनियाको संक्रमण शरीरका सम्पूर्ण भागमा फैलियो भने गम्भीर अवस्था निम्तिन्छ ।
चिसोमा ज्यादा जोखिम
हाम्रो श्वासनलीभित्र स–साना सिलिया हुन्छन् । जसले जीवाणुहरूलाई तानेर खकार र सिँगानका माध्यमबाट बाहिर फाल्छन् । गर्मीको तुलनामा जाडोमा यी सिलियाहरू कम सक्रिय हुन्छन् । चिसोले गर्दा सिलिया फ्रिज भएर बस्छन् । त्यही कारण फोक्सोको संक्रमण ज्यादा हुन्छ । जाडो समयमा पानी कम पर्छ र धुलो धेरै उड्छ । त्यही कारण प्रदूषण धेरै हुन्छ । सावधानी अपनाइएन भने धुलोको असर फोक्सोमा पर्न सक्छ ।
यसरी गरौँ बालबालिकाको हेरचाह
निमोनियाका कारण बालबालिकाहरू विशेषगरी प्रभावित हुने गरेका छन् । विश्वमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । त्यही कारण हामीले जाडोयाममा बच्चालाई चिसोबाट जोगाउनुपर्छ । बिहान–बेलुकी सकेसम्म बाहिर नपठाउने, पठाउनैपरेको अवस्थामा चिसोबाट बच्ने गरी न्यानो कपडा लगाइदिने गर्नुपर्छ । बच्चालाई प्रदूषित ठाउँमा जान दिन हुँदैन । खाना खानअघि हात धोइदिनुपर्छ । झोलिलो पदार्थ पटक–पटक खुवाउनुपर्छ । खोकी लागेका वेला पानी उमालेर मनतातो बनाएर पिउन दिनुपर्छ । सास छिटो–छिटो फेर्ने, खान मन नगर्ने, लामो समयसम्म ज्वरो आउनेलगायत समस्या देखिए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
नवजात शिशुका हकमा ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । ६ महिनापछि आमाको दूधसँगै अन्य पौष्टिक तत्वसमेत खुवाउनुपर्छ । सरकारले बालबालिकालाई दिने भनेर निर्धारण गरेका सबै खोप अनिवार्य लगाइदिनुपर्छ, यसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।
लक्षण
- खोकी लाग्ने ।
- खोकीसँगै बाक्लो र पहेँलो खकार आउने ।
- उच्च ज्वरो आउने । कामज्वरो आएको महसुस हुने ।
- सास फेर्न गाह्रो हुने ।
- श्वासप्रश्वास छिटो–छिटो चल्ने वा सास लिन कठिनाइ हुने ।
- अक्सिजनको मात्रा कम हुने ।
- छाती घ्यारघ्यार हुने ।
- कमजोर र थकित महसुस हुने ।
- बेचैनी महसुस हुने ।
निमोनियाबाट कसरी बच्ने ?
- न्यानो भएर बस्ने, न्यानो कपडा लगाउने ।
- स्टिम लिने ।
- मनतातो पानीले मुख कुल्ला गर्ने ।
- खानपानमा ध्यान दिने ।
- चिसो चिज नखाने ।
- कुनै खानाको एलर्जी छ भने त्यस्ता खानेकुरा नखाने ।
- बर्सेनि रुघाखोकीको खोप लगाउने ।
- निमोनियाको खोप लगाउने (यो खोप पाँच वर्षमा एकपटक लगाइन्छ ।)
- धूम्रपान नगर्ने ।
- थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।