प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ।
३ मंसिरसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार पाँच सय मतपत्र छपाइ भएको छ। अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ।
छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार पाँच सय प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र रहेका छन्। जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन्।
धमाधम ढुवानी
आयोगले छपाइसँगसँगै मतपत्र ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ।
जसमा प्रतिनिधिसभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लामा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन्।
यसैगरी हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ। यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिनेछ।
आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित मतपत्र प्रयोग गर्ने भएकाले यसपटक निर्वाचन क्षेत्रअनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ। प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्याअनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ।
आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ। अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ।
उनीहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि मात्र मतदान गर्न पाउनेछन्। आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी गरिसक्नेछ।