टिकट नपाएका ठूला दलका ‘हेभिवेट’ नेता के गर्दै छन् ?

एमालेका रावल र माओवादीका गजुरेल निष्क्रिय, नेतृत्वको बेवास्ताबारे अधिकांशको गुनासो, कोही स्वतस्फुर्त उम्मेदवार जिताउन खटिँदै

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

पटक–पटक सांसद, मन्त्री भएका, तर ४ मंसिरको निर्वाचनमा पार्टीबाट टिकट नपाएका प्रमुख दलका दर्जनभन्दा बढी ‘हेभिवेट’ नेतामध्ये कतिपय चुनावी प्रचार अभियानमा गुमनाम र फुर्सदिला बनेका छन् । केही नेता नेतृत्वप्रति असन्तुष्टि राखेर चुनावी अभियानबाट टाढै बसेका छन् भने कतिपय नेता पार्टी निर्णय र नेतृत्वको निर्देशन नआए पनि असहमति राख्दै गुटका नेता जिताउने काममा स्वतस्फुर्त खटिन थालेका छन् । स्वेच्छाले टिकट त्यागेका नेताहरू भने पार्टी निर्णयअनुसार चुनावी परिचालनमा खटिने मनस्थितिमा छन् । त्यस्ता नेताहरू स्वतस्फुर्त पार्टीका उम्मेदवार जिताउन सक्रिय बनेका छन् ।

अछामबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि असन्तुष्ट बनेका एमालेका पूर्वउपाध्यक्ष भीम रावल २७ असोजमा अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेपछि गृहजिल्ला फर्किएका छैनन् । अघिल्लोपटक उनी वाम गठबन्धनबाट विजयी भएका थिए । उम्मेदवारका लागि उनको नाम जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस आए पनि अध्यक्ष केपी ओलीको एकल निर्णयका कारण टिकट नपाएको उनको आक्षेप छ । 

रावललाई जिल्लाबाट एमाले उम्मेदवारहरूले चुनाव जिताउने अभियानमा काठमाडौंबाट अछाम फर्किन तारन्तार आग्रह नगरेका पनि होइनन् । तर, आफ्ना विषयमाथि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले पार्टी कार्यालयमा बोलाएर छलफलमार्फत चित्त बुझाएको अवस्थामा मात्र चुनावी अभियानमा सक्रिय हुने मनस्थितिमा रावल देखिएका छन् । सम्पर्कमा आएका उम्मेदवारलाई पनि रावलले त्यस्तै संकेत गरेका छन् । उनले चुनावी परिचालनमा सक्रिय नभए पनि अरू धेरै प्रकारको काममा आफू व्यस्त रहेको प्रतिक्रिया दिए । 

‘काम धेरै प्रकारका हुन्छन्, त्यसैले व्यस्त नै छु । अछामबाट उम्मेदवार उठ्नुभएका सम्बन्धित व्यक्तिहरूले फोन गर्नुभएको थियो । टिकट नदइिएपछि केही समय चुप लागेरै बसेको थिएँ, बोलिहाल्ने सोचमा पनि थिइनँ । तर, माथिबाटै ममाथि प्रहार भएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा प्रस्ट पारेको थिएँ,’ रावलले भने, ‘३ कात्तिकमा अछाममा दुईजना उम्मेदवारले ममाथि प्रहार गरेर प्रचार गर्नुभएछ । उहाँहरूलाई पहिला तपाईंहरूले अध्यक्ष, वरिष्ठ उपाध्यक्षहरूलाई पार्टी कार्यालयमा बोलाउन लगाउनुस्, त्यहाँ गएर छलफल गर्छु, आफ्ना कुराहरू राखेपछि जिल्ला आउँछु भनेको छु, तर केही खबर आएको छैन । त्यसैले अहिले काठमाडौंमै छु ।’

 पछिल्लोपटक पत्रकार सम्मेलन गरेरै रावलले स्वेच्छाले बाहेक आफू चुनावी परिचालनसम्बन्धी पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने प्रस्ट संकेत गरिसकेका थिए । ‘पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन । देश र जनताको हितमा क्रियाशील रहनुपर्ने गतिशील संस्था हो । आगामी दिनमा राष्ट्रिय राजनीति र पार्टीको गति र मतिअनुरूप नै सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं संवद्र्धन गर्ने अवसरका रूपमा सदुपयोग गर्दै सोहीअनुरूप उम्मेदवारलाई विजयी तुल्याउन मेरो आग्रह छ,’ उनले भनेका थिए । 

एमालेबाट रावलसहित पदाधिकारी तहका हेभिवेट नेताहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु रिमालले प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट पाएका छैनन् । त्यसबाहेक बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीसहित प्रदेशका थुप्रै पदाधिकारी प्रत्यक्ष र समानुपातिक दुवैतिरका टिकटबाट वञ्चित छन् । 

भीम रावल, नेता, एमाले
३ कात्तिकमा अछाममा दुईजना उम्मेदवारले ममाथि प्रहार गरेर प्रचार गर्नुभएछ । उहाँहरूलाई पहिला तपाईंहरूले अध्यक्ष, वरिष्ठ उपाध्यक्षहरूलाई पार्टी कार्यालयमा बोलाउन लगाउनुस्, म त्यहाँ गएर छलफल गर्छु, आफ्ना कुराहरू राखेपछि जिल्ला आउँछु भनेको छु, तर केही खबर आएको छैन । त्यसैले अहिले काठमाडौंमै छु ।

युवराज ज्ञवाली, उपाध्यक्ष, एमाले
‘दश लाख पार्टी सदस्य छ, संगठित भन्छौँ । केन्द्रीय अध्यक्षदेखि वडाध्यक्षसम्म संगठित जिम्मेवारीमा मोटामोटी ४० हजारको संख्या होला । बाँकी नौ लाख ६० हजार के गर्दै छन् ? अहिलेको गम्भीर प्रश्न यो हो । उम्मेदवारबाहेकका साथीहरू चुनाव जिताउन खटिरहनुभएकै छ, पार्टीले मलाई पनि कहाँ–कहाँ खटाउँछ, त्यसअनुसार अगाडि बढ्छु, जिल्ला पनि जान्छु, आवश्यकताले जहाँ पनि जान सकिन्छ ।

डा.मीनेन्द्र रिजाल, नेता, कांग्रेस
नेतृत्वले टिकट नदिनु अविवेकी निर्णय हो । तर, नेतृत्वको निर्णयको सजाय राम्रा मान्छेलाई हराएर दिनुहुँदैन भन्ने मान्यतामा छु । किनभने कांग्रेस असाध्यै ठूलो, ऊर्जाशील र सम्भावना बोकेको पार्टी हो । पार्टी नेतृत्वको सत्ताको घमन्ड, अन्याय र अविवेकी निर्णयलाई आधार मानेर अरू कसैलाई अन्याय गर्नुहुँदैन । त्यसैले जहाँ उम्मेदवारले बोलाउनुभएको छ, त्यहाँ खटिएको छु । 

हरिबोल गजुरेल, उपमहासचिव, माओवादी
टिकट नदिइएपछि अध्यक्षलाई असहमतिपत्र दिएको थिएँ । त्यसपछि मलाई बोलाउनुभएको थियो । मैले व्यक्तिगत रूपमा होइन, पदाधिकारीको बैठक बोलाउनुस्, त्यहीँ छलफल गरेर मैले उठाएका प्रश्नको जवाफ प्रस्ट नभएसम्म चुनावमा जिल्ला र अन्त कतै खटिन्न भनेको थिएँ । बैठक बोलाउनुभएको छैन । भित्र एउटा, बाहिर अर्को कुरा गर्न जान्दिनँ, त्यसैले आफ्ना कुरा प्रस्ट नभएसम्म चुनावी परिचालनमा खटिएको छैन ।

 कांग्रेसका चर्चित नेता कोही चुनावी प्रचारमा, कोही निष्क्रिय
कांग्रेसभित्र टिकटको दौडमा रहेका केही हेभिवेट नेताहरूले प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट पाएनन् । डा. मीनेन्द्र रिजाल, डा. रामशरण महत, महेश आचार्य, सीतादेवी यादवले प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट पाएनन् । पार्टीलाई नीति र घोषणापत्रमा सघाइरहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल पनि प्रत्यक्षको टिकटबाट वञ्चित भएका थिए । रिजाल मोरङ २ बाट दाबेदार थिए । उनले अन्तिमसम्म टिकटका लागि प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सुजाता कोइरालाको पक्षमा निर्णय लिएका थिए । त्यसपछि देउवासँग असन्तुष्ट बनेका रिजाल नेतृत्वले दम्भ देखाएर अविवेकी निर्णय लिए पनि आफू त्यसको सजाय राम्रा उम्मेदवारहरूले पाउनुहुन्न भन्ने मान्यतासहित उनीहरूकै आग्रहमा निर्वाचन क्षेत्रहरूमा जिताउन सक्रिय भइरहेको बताए । 

‘नेतृत्वले टिकट नदिनु अविवेकी निर्णय हो । तर, नेतृत्वको निर्णयको सजाय राम्रा मान्छेलाई हराएर दिनुहुँदैन भन्ने मान्यतामा छु । किनभने कांग्रेस असाध्यै ठूलो, ऊर्जाशील र सम्भावना बोकेको पार्टी हो,’ रिजालले भने, ‘पार्टी नेतृत्वको सत्ताको घमन्ड, अन्याय र अविवेकी निर्णयलाई आधार मानेर अरू कसैलाई अन्याय गर्नुहुँदैन । त्यसैले जहाँ उम्मेदवारले बोलाउनुभएको छ, त्यहाँ खटिएको छु । कांग्रेसभित्र जो उम्मेदवार छ, उसैले नै चुनाव हाँक्ने चलन भएकाले त्यसैलाई पछ्याइरहेको छु ।’ पार्टीभित्र शेखर कोइराला समूहमा रहेका रिजाल विशेषतः त्यस समूहका नेताहरूलाई जिताउन बढी सक्रिय देखिएका छन् । उनले आफू शशांक कोइरालाको नवलपुर २, सुनसरी १ को चुनावी कार्यक्रममा सहभागी भएको र केही दिनमै शेखर कोइराला र अमनलाल मोदीको चुनावी क्षेत्रमा सहभागी हुने बताए । 

मोरङ ३ बाट अन्तिमसम्म टिकटका लागि दाबी गरेका महेश आचार्य चुनावी अभियानमा निष्क्रिय देखिएका छन् । त्यहाँ गठबन्धनको टिकट बाँडफाँडमा माओवादीका अमनलाल मोदी उठेका छन् । आचार्यले चुनावी अभियानमा सक्रिय वा निष्क्रिय बसेको विषयमा कुनै टिप्पणी नगर्ने भन्दै टिकट वितरणमै गम्भीर असहमति रहेको संकेत गरे । ‘यस्ता विषयमा बोल्न चाहँदिनँ, कुनै टिप्पणी गरिरहनु पनि आवश्यक छैन,’ उनले भने । 

सुरुमा चितवन १ मा टिकट दाबी गरेका स्वर्णिम वाग्ले पछि महामन्त्री गगन थापाको प्रस्तावमा काठमाडौं ४ बाट उठ्ने तयारीमा थिए । तर, उनले दुवैतिर टिकट पाएनन् । कांग्रेसभित्र शेखर–गगन समूहमा रहेका वाग्लेले सुरुमा दाबी गरिरहेको क्षेत्रमा देउवाले विश्व पौडेललाई टिकट दिएका थिए । कुनै सार्वजनिक असन्तुष्टि नपोखेका वाग्लेले कांग्रेसको घोषणापत्र निर्माणमा सहयोग पुर्याएका थिए । प्युठानमा दाबी गरेका अर्का दाबेदार डा. गोविन्दराज पोखरेलको क्षेत्र राष्ट्रिय जनमोर्चालाई दिइएपछि दाङ ३ बाट इच्छा जाहेर गरेका थिए । अन्तिममा एमालेसँग तालमेल गरेर विद्रोही कांग्रेसका रूपमा चुनावमा उठ्ने तयारीबाट पोखरेल पछि हटेका थिए । 

गजुरेलबाहेक माओवादीका हेभिवेट नेता प्रचारमा सक्रिय
माओवादीबाट तीनजना हेभिवेट नेता निर्वाचनको उम्मेदवारीबाट बाहिर छन् । उपाध्यक्ष कृष्णबहादुर महरा स्वेच्छाले दाङ २ बाट चुनाव लड्ने सुरुवाती मनस्थितिबाट पछि हटेका थिए । वाम गठबन्धनबाट अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित महरा समानुपातिकमा पनि उम्मेदवार छैनन् । त्यहाँ एमाले महासचिव शंकर पोखरेल उठेका छन् । पोखरेलसँग प्रतिस्पर्धामा रहेकी गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मालाई जिताउन महरा सक्रिय छन् ।
सिन्धुली २ मा टिकट पाउन वञ्चित माओवादी उपमहासचिव हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमतिपत्र बुझाएर तीन सातादेखि चुनावी अभियानबाट टाढा बसेका छन् । अन्तिममा केन्द्रीय सदस्य राजन दाहाललाई टिकट दिने प्रचण्डको निर्णयबाट असन्तुष्ट गजुरेल पार्टीभित्र पदाधकारीको बैठकबाट आफ्ना असहमतिमाथि छलफल भएर समाधान नभएसम्म गृहजिल्लाको चुनावी अभियानमा सक्रिय नहुने अडानमा छन् ।

‘टिकट नदिइएपछि अध्यक्षलाई असहमतिपत्र दिएको थिएँ । उहाँले त्यसपछि बोलाउनुभएको थियो । व्यक्तिगत रूपमा होइन, पदाधिकारीको बैठक बोलाउनुस्, त्यहीँ छलफल गरेर मैले उठाएका प्रश्नको जवाफ प्रस्ट नभएसम्म चुनावमा जिल्ला र अन्त कतै खटिन्न भनेको थिएँ,’ गजुरेलले भने, ‘बैठक बोलाउनुभएको छैन । जिल्लामा उम्मेदवारले ३ कात्तिकको कार्यक्रममा बोलाउनुभएको थियो, तर गइनँ । भित्र एउटा, बाहिर अर्को कुरा गर्न जान्दिनँ, त्यसैले आफ्ना कुरा प्रस्ट नभएसम्म चुनावी परिचालनमा खटिएको छैन ।’

सत्तारूढ गठबन्धनका तर्फबाट पूर्वसभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक १ बाट दाबेदार थिए । तर, अन्तिम समयमा उनले चुनाव नलड्ने घोषणा गरे । अहिले भने कार्यकर्ता भेटघाटमै छन् । अघिल्लोपटक वाम गठबन्धनबाट विजयी सापकोटाको क्षेत्रमा गठबन्धनबाट माओवादीकै माधव सापकोटा उठेका छन् । 

माओवादीसँग गठबन्धन गरेर चुनावमा गएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संसदीय राजनीतिबाट विश्राम लिएका छन् । पार्टी एकताको लक्ष्यसहित चुनावपछि माओवादीसँग गठबन्धन गरेका भट्टराई अहिले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा प्रचण्डलाई जिताउन सक्रिय छन् । आइतबार गोरखाको चुनावी क्षेत्रमा आयोजित कार्यक्रममा भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मत आकर्षित गर्ने प्रयास गरे । ‘यहाँ कसैले अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’ भट्टराईले भनेका थिए ।

 काठमाडौं १० मा उठ्न नमानेका बादल ओलीसँगै चुनावी प्रचार सभामा
एमाले अध्यक्ष ओलीले काठमाडौं १० बाट टिकट लिन आग्रह गरे पनि अन्तिममा ब्याक भएका उपाध्यक्ष बादल पनि उतिसारो चुनावी परिचालनको सार्वजनिक मञ्चमा देखिएका छैनन् । यद्यपि, उनलाई केन्द्रीय निर्वाचन परिचालन कमिटीले अध्यक्ष ओलीसँगै १८ कात्तिकबाट चुनावी प्रचार सभामा खटाउने तयारी गरिरहेको छ । 

उपाध्यक्ष ज्ञवाली पनि पार्टीले खटाएपछि सक्रिय हुने सोचमा छन् । अर्का उपाध्यक्ष शाक्य भने स्वतस्र्फुत रूपमा काठमाडौंका विभिन्न क्षेत्रको चुनावी अभियानमा सक्रिय छिन् । ‘मैले केही दिनअघि अध्यक्षलाई तपाईं झापामा लाग्नुस्, म चुनावी परिचालनको काम पूरै सम्हाल्ने काममा लाग्छु भनेकी थिएँ, उहाँले हुन्छ पनि भन्नुभएको हो,’ शाक्यले भनिन्, ‘त्यसपछि थप केही पनि कुरा भएको छैन ।’

तीसको दशकमा काठमाडौंबाटै भूमिगत राजनीति सुरु गरेकी शाक्य अहिले विशेषतः आफ्नै निर्वाचन क्षेत्र ८ र अर्को निर्वाचन क्षेत्र ७ मा बढी सक्रिय छिन् । आवश्यकताअनुसार काठमाडौं ६ र अन्य क्षेत्रहरूमा पनि परिचालनको काममा उत्प्रेरित गर्न सक्रिय भइरहेको उनले जानकारी दिइन् । ०७४ मा काठमाडौं ८ (ख) बाट प्रदेश सांसद निर्वाचित शाक्यलाई ओलीले प्रतिनिधिसभामा अन्तिमसम्म उठाउन चाहेका थिए, तर उनले स्वेच्छाले टिकट परित्याग गरेकी थिइन् ।  

अर्का उपाध्यक्ष ज्ञवालीले आफू गृहजिल्ला दाङ र आवश्यकताअनुसार पार्टीले चुनावी परिचालनमा खटाएअनुसार सक्रिय बन्ने मनस्थितिमा रहेको बताए । ‘भारतीय कम्युनिस्ट पार्टीको आन्ध्र प्रदेशमा भइरहेको महाधिवेशनमा सहभागी भएर भर्खरै फर्किएको छु, पार्टीले १५ कात्तिकमा घोषणापत्र सार्वजनिक गरेपछि चुनावी सभाको कार्यक्रम पनि अगाडि बढाउला,’ उनले भने, ‘उम्मेदवारबाहेकका साथीहरू चुनाव जिताउन खटिरहनुभएकै छ, पार्टीले मलाई पनि कहाँ–कहाँ खटाउँछ त्यसअनुसार अगाडि बढ्छु, जिल्ला पनि जान्छु, आवश्यकताले जहाँ पनि जान सकिन्छ ।’ उनले पार्टीको १० लाख संगठित सदस्य सक्रिय हुने गरी चुनावी परिचालन हुन नसकेकोतर्फ इंगित गर्दै केही असन्तुष्टि पनि पोखे । ‘हामी दश लाख पार्टी सदस्य छ, संगठित भन्छौँ । केन्द्रीय अध्यक्षदेखि वडाध्यक्षसम्म संगठित जिम्मेवारीमा मोटामोटी ४० हजारको संख्या होला । बाँकी नौ लाख ६० हजार के गर्दै छन् ? अहिलेको गम्भीर प्रश्न यो हो,’ उनले भने, ‘के उनीहरू चुनाव मात्र प्रचार गर्ने फाल्तु मान्छे हुन् ? त्यसकारण चुनाव उठ्नैपर्छ, जित्नैपर्छ भन्ने होइन, लोकतन्त्र, प्रणाली सफल बनाउनुपर्छ ।’

व्यक्ति जित्नेभन्दा पनि विचार, सिद्धान्त र पार्टीले जित्ने कुरा मुख्य भएकाले त्यसअनुसार चुनावी परिचालन हुन नसकेको उनको भनाइ छ । ज्ञवाली दाङ ३ बाट सिफारिस भएका थिए ।

सुझावित समाचार