यतिवेला फलफूल व्यवसायीहरूले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिबल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन्। कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धुम्बाराहीलगायत काठमाडौं उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन्।
काठमाडौं उपत्यकामा भित्रिने कुल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको नेपाल फलफूल थोक व्यवसाय संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँको भनाइ छ । उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन्।
अध्यक्ष बानियाँ भन्छन्, ‘तिहारमा मुख्य गरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिबलको खपत बढी हुने गर्दछ। हुनेखानेले किबी, अंगुर, ड्रागन फ्रुटलगायत महँगा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ।’ हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन्। यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ।’
तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ। अध्यक्ष बानियाँ भन्छन्, ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ। तिहारको लागि १० करोड रुपैयाँको कास्मिरबाट चकलेटी स्याउ भित्रियो।
त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ। यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो। मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ।
अध्यक्ष बानियाँका अनुसार नेपालभर कुल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको बताउँछन्। उनको अनुमानका अनुसार १५ करोडको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन्।
त्यसैगरी, नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताउँछन्। उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ। तिहारका पाँच दिनमा मात्रै ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ। सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोडको नेपाली केरा भित्रिएको छ।
पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ। बजारमा नेपालीभन्दा भारतीय केरा महँगोमा भए पनि उपभोक्ताले किन्ने गर्छन्।
सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ। त्रिवेणी, टीकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ। तर, त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ। भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ।
भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको दुःखेसो गर्दै बानियाँको छ। ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ। हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ,’ उनले भने।
व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्छन्, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ। उनीहरूको केरा हेर्दै किनौँकिनौँ लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ। तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्बाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन्।’
त्यसैगरी, तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए। उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ।
त्यस्तै, लक्ष्मी पूजा गर्नको लागि नरिबल दुई करोडको भित्रिएको छ। यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच-छ थरीका फलफूल सो बजारमा मात्रै ७५ करोडको आयात भएको भन्दै उनले भने, ‘तिहारमा मात्रै कुल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै ७५ करोडभन्दा बढीको व्यापार हुन्छ।’
यतिवेला भारतीय हलुवाबेद बजारमा छ्याप्छ्याप्ती छ। त्यस्तै, काँचै खान मिल्ने जापानी हलुवाबेद पनि बजारमा पर्याप्त मात्रामा छ। अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनियाको किबीले नेपाली बजार लिएको छ।
पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन्। नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ।
त्यसैगरी, नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो। अध्यक्ष बानियाँ भन्छन्, ‘बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ। हेर्दा उनीहरूको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ। तर, उपभोक्ताले यो कुरा बुझ्दैनन् भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ। नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ।’ उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ। रासस