सत्तागठबन्धनको दुईतिहाइ आउँछ : राणा

मंगलबार, ८ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले ४ मंसिरमा हुने निर्वाचनमा सत्तागठबन्धनले दुईतिहाइ सिट जित्ने दाबी गरेका छन्। उनले सत्तागठबन्धनका पक्षमा जनलहर देखिएको दाबी गरे। 

लोकतान्त्रिक–वामगठबन्धन गोदावरी नगरपालिका ढुकुछाप– ८ कमिटीले मंगलबार गरेको कार्यक्रममा राणाले भने, ‘हाम्रो गठबन्धनको नेतृत्वमा दुईतिहाइ सिट आउँछ अनि मिलेर सरकार बन्छ।’ उनले अहिलेको गठबन्धन आगामी पाँच वर्षसम्म जाने दाबी गरे। 

उनले गठबन्धनलाई स्थानीय चुनावमा जनताले अनुमोदन गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचन परिणाम पनि गठबन्धनकै पक्षमा आउने दाबी गरे। साथै, उनले कांग्रेस र माओवादीसहित गठबन्धनका दलहरूबीच ललितपुरको विकासका लागि व्यवहारमै सहकार्य भइसकेको बताए। 

उनले गठबन्धनमा रहेका पार्टीका स्थानीय नेता कार्यकर्ताहरूको समस्यामा आफूले साथ दिने वचन दिए। ‘तपाईंहरूको सुखदुःखमा कांग्रेस साथै रहन्छ। तपाईंहरूसँगको सहमतिमा हामी काम गर्नेछौँ,’ उनले भने, ‘भोलिका दिन माओवादीसहित एकीकृत समाजवादीका साथीहरूका समस्याहरू समाधान गर्न हामी साथ दिन्छौँ। माओवादी समाजवादीका साथीहरूका लागि मेरो घरको ढोका र दिलको ढोका सधैँ खुला छ।’

सत्तागठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच चुनावी तालमेल भएको छ। ललितपुर पनि यी तीन दलबीच चुनाव तालमेल छ। ललितपुर- १ मा प्रतिनिधिसभामा कांग्रेसबाट राणा उम्मेदवार छन् भने प्रदेश सभातर्फ कांग्रेसका मीनकृष्ण महर्जन र माओवादी केन्द्रका हरि दाहाल उम्मेदवार छन्।
 

सुझावित समाचार