प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरूको रक्षाका लागि पाँचदलीय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन्।
पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन गरिएकाले जिताउनुपर्ने बताए।
लोकतन्त्र र गणतन्त्रलाई स्थायित्व गराउन र प्राप्त उपलब्धिहरूको रक्षा गर्न पाँचदलबीच गठबन्धन भएको उल्लेख गर्दै उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनावचिह्नमा मतदान गर्न कुनै अप्ठ्यारो नमान्न आग्रह गरे।
‘एमाले अध्यक्ष केपी ओलीले गठबन्धन गर्न हुने, हामीले किन गर्न नहुने?’ प्रश्न गर्दै देउवाले भने, ‘मुलुकलाई बचाएर लोकतन्त्र, संघीय गणतन्त्रलाई स्थायी बनाउन सबै नेता तथा कार्यकर्ताले घरघरमा गएर सबैसँग भोट हाल्न लगाएर गठबन्धनलाई जिताउन आवश्यक छ।’
देउवाले संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन गर्नु अहिलेको आवश्यकता रहेको बताए।
गठबन्धनको सरकार बनेपछि धेरै अवसर सिर्जना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उनको भनाइ थियो।
आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले विकास र परिवर्तनका निम्ति पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए।