प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
पाँचदलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारेका हुन्।
यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशितालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उनले भने, ‘सबैको समावेशिता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ। यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो।’
उनले कार्यकर्तालाई बोली तथा व्यवहारमा तिक्तता आउने काम नगर्न निर्देशन दिए। गठबन्धनमा सबैको जित भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए।
प्रधानमन्त्री देउवाले नेपालको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताए।
गण्डकी प्रदेशमा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्रीको ठम्याइ थियो।