मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका एक सय ३० मतदानस्थलमध्ये २३ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रमा राखिएको छ ।
सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र २१ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए । प्रजिअ वैद्यले अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताउँदै भने, ‘निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन दिइनेछैन ।’
चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा अतिसंवेदनशील केन्द्रमा भौगोलिक विकटता र यसअघिको निर्वाचन सुरक्षा अवस्थालाई आधार मानिएको छ । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।
सुरक्षा समितिले सबै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । त्यसभन्दा बाहिरी घेरामा नेपाली सेनालाई पनि प्रयोग गरिने सुरक्षा समिति लमजुङले जनाएको छ ।