भारतीय कंग्रेसको अध्यक्षमा खड्गे निर्वाचित

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

भारतको विपक्षी दल, राष्ट्रिय कंग्रेस पार्टी (आइएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। आइएनसीले मल्लिकार्जुन खड्गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिएका हुन्।

निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, 'कुल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ।' 

खड्गेसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका कंग्रेस नेता शशी थरूरले एक हजार ७२ मत प्राप्त गरेका छन्। साथै, खसेको कुल मतमध्ये ४१६ मत बदर भएको छ। कंग्रेस नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड्गे २४ वर्षमा पहिलोपटक गैरगान्धी परिवारबाट कंग्रेसको नेतृत्वमा चयन भएका छन्। गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ।

सुझावित समाचार