नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले ‘मिसन १५०’ बनाएर निर्वाचनमा होमिएको बताएका छन्। आउने प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ १५० सिट ल्याउने उनले दाबी गरेका हुन्।
झापाको दमकमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले एक्लै सरकार बनाउने दाबी गरेका हुन्। ‘एमालेले लहर बढ्यो। अब कुनै गठबन्धनका छेस्काछेस्कीले छेक्नेवाला छैन। प्रत्यक्षतर्फ एक सय सिटभन्दा तल ल्याउने ठाउँ छैन,’ ओलीले भने, ‘समानुपातिकमा कमसेकम ५० सिट ल्याउँछ । त्यसकारण अबको मिसन १५०। कांग्रेसले ९० सिट ल्याउने नसोचे हुन्छ।’ उनले प्रत्यक्षमा राप्रपा र जसपासँग तालमेल भए पनि समानुपातिकमा एक मत पनि नचुहाउन कार्यकर्तालाई निर्देशन दिए।
उनले आउँदो निर्वाचनबाट राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी गरे। ‘राप्रपाले हामीसँग सहकार्य गर्यो। राप्रपा राष्ट्रिय पार्टी बन्छ । जसपा राष्ट्रिय पार्टी कायम रहन्छ। लोसपा राष्ट्रिय पार्टी बन्दैन । सिमलीको डाँक्लाको छेस्को (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्दैन। किनकि, यसले एमालेसँग टक्कर गर्यो,’ ओलीले भने, ‘दुईवटा पार्टी राष्ट्रिय पार्टी बन्छन्। अर्कोपल्टलाई पनि चाहिन्छ। उनीहरूलाई देश बिगारेको दण्ड दिनुपर्छ।’
ओलीले यो सरकारको दिनगन्ती सुरु भएको दाबी गरे। ‘यो सरकारको आयु कमिला, लामखुट्टेभन्दा पनि छोटो छ। म्यादी सरकार हो, यो,’ उनले भने, ‘यसको दिनगन्ती सुरु भयो। अब एक महिना दुई दिन बाँकी छ।’
ओलीले सत्तारुढ गठबन्धन भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरेका छन्। उनले यसको हिसाबकिताब दिन आफू तयार भएको बताए। उनले यो निर्वाचनले देशको भविष्यको फैसला गर्ने बताए। यो गठबन्धन सरकारलाई नै अनुमोदन गरे देश कंगाल हुने दाबी गरे। यो निर्वाचनले विकासको अभियान अघि बढाउने कि नबढाउने सुशासन ल्याउने कि नल्याउने? भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताए।
उनले झापामा तालमेलमा रहेको दलले धोका नदिने दाबी गरे। उनले एमालेले पनि सँगै हिँडेका दललाई धोका नदिने भन्दै अरूले पनि धोका नदिने विश्वास व्यक्त गरे।
तस्बिर : ओलीको सचिवालय।