सत्तागठबन्धनका शीर्ष नेताको अपिल : मत माग्दै अघि सारे भावी सरकारका कार्यक्रम

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

सत्तारूढ प्रमुख तीन दलका शीर्ष नेताले आसन्न निर्वाचनपछि दूरदृष्टि र स्पष्ट कार्ययोजनाका साथ गठबन्धन सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त अपिल जारी गर्दै आगामी पाँच वर्ष गठबन्धनकै सरकार रहने सन्देशसहित त्यसले गर्ने काम अगाडि सारेका छन् । पाँचदलीय गठबन्धन भावी प्रधानमन्त्रीबारे भने मौन छ । 

आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन उनीहरूले अपिल गरेका छन् । ‘सम्भावनाको सदुपयोग गर्ने प्रस्ट दूरदृष्टि र कार्ययोजनाका साथ गठबन्धनको भावी सरकारले कार्य गर्नेछ’ अपिलमा छ, ‘लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछौँ ।’

संविधानमाथि नै आक्रमणको खतरा रहेको दाबी गर्दै उनीहरूले त्यसका विरुद्ध लड्न गठबन्धनको औचित्य कायमै रहने बताएका छन् । ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ’ उनीहरूको प्रतिबद्धतामा छ । आ–आफ्नो वैचारिक पहिचानसहित बृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी साझा दृष्टिकोणका साथ अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ । साझा प्रतिबद्धता, नीति र योजनाको विस्तारित रूप पार्टीगत घोषणापत्रमा समावेश गर्ने तयारी छ । ‘केही विषयमा फरक विचार र दृष्टिकोणका कारण नै अलग–अलग पार्टीको अस्तित्व रहेको हो । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । आ–आफ्नो वैचारिक पहिचानसहित बृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी साझा दृष्टिकोण आएका छन् । त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आममतदाताले बुझ्नुभएकै छ ।’ 

संविधानले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्ने प्रतिबद्धता शीर्ष नेताको छ । सत्तारूढ गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार भएको नेताहरूले प्रस्ट्याएका छन् । 

संविधानको भावना र मर्मविपरीत दुई–दुईपटक गरिएको संसद्को असंवैधानिक विघटनलगायत तत्कालीन सरकारको अनेकौँ स्वेच्छाचारी कदमलाई परास्त गर्न र संविधानको रक्षा गर्न गठबन्धन बनेको अपिलमा स्मरण छ । गठबन्धन सरकारले कोभिड महामारी नियन्त्रण, विदेश नीतिमा सन्तुलन कायम गरिएको दाबी छ । ‘गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरूप काम गर्दै आएको छ । गठबन्धन सरकार गठन भएलगत्तै महामारीको रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको छ । वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको छ । जनताको आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशील छ ।’ देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलसहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्ने प्रतिबद्धता शीर्ष नेताहरूको छ । उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई गठबन्धन दलहरूले प्राथमिकता दिने भएका छन् ।

कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन र नेपालको तुलनात्मक लाभ एवं प्रचुर सम्भावना भएका जलविद्युतजस्ता क्षेत्रको विकासमा जोड दिइएको छ । ‘पर्याप्त निजी, सहकारी एवं सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ । यस्तो लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिकोे सुनिश्चितताप्रति गठबन्धन सचेत छ,’ अपिलमा भनिएको छ । यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु नै पहिलो प्राथमिकता रहेका छन् । सडक, रेल एवं हवाई यातायातको विस्तार गरी त्यसलाई विश्वसनीय एवं सुरक्षित बनाउन निरन्तरको प्रयास आवश्यक रहेको औँल्याइएको छ । जलविद्युत्को विकासमार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्न, सफा ऊर्जाको उपभोग बढाएर वातावरण विनाश रोक्न, स्वदेशमा उत्पादित विद्युत्को निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाई भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने सम्भावना गठबन्धनले औँल्याएको छ 

काठमाडौंपछि ललितपुरमा संयुक्त चुनावी भेला
सत्तागठबन्धनका प्रमुख तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले अझै प्रतिगामी खतरा रहेकाले वाम लोकतान्त्रिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । विगतदेखि नै कांग्रेस र कम्युनिस्टबीच सहकार्य चल्दै आएको स्मरण गर्दै विनासंकोच रूख, हँसिया–हथौडा र कलम चिह्नमा मतदान गर्न आह्वान गरेका छन् ।

मंगलबार ललितपुरमा भएको संयुक्त चुनावी कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई विजयी गराएर देशमा स्थायी शान्ति, लोकतन्त्र र गठबन्धन संस्कार लागू गर्ने अभियानमा साथ दिन आह्वान गरे । गठबन्धन सरकारले देशलाई समृद्ध बनाउने अभियान थालेको भन्दै देउवाले गठबन्धनको पक्षमा एकजुट हुन आह्वान गरे । ‘को हँसिया–हथौडा, को रूख, को कलम भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया–हथौडा भएको ठाउँमा हँसिया–हथौडालाई नै भोट हाल्ने, रूख भएको ठाउँमा रूखलाई नै भोट हाल्ने । यति गरे पुगिहाल्यो नि किन चाहियो अरू कुरा ?’, उनले भने । 

माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनमा दुइटा विचार, दुईटा प्रवृत्ति र दुईटा गठबन्धन आमनेसामने भएको बताए । उनले सही विचार, प्रवृत्ति र सच्चा गठबन्धनको पक्षमा परिचालित हुन आह्वान गरे । परिवर्तनका पक्षधर एक ठाउँमा उभिएको र विरोधी अर्को कित्तामा उभिएको प्रचण्डले बताए । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताए । ‘दुई–दुईपटक संविधान कुल्चिने काम भएको थियो । मुलुकलाई अस्थिरतातर्फ लैजाने काम भएको थियो । तत्कालीन प्रधानमन्त्री (केपी ओली)ले संसद् भंग गर्ने काम गरे । त्यसको विपक्षमा उभिएर हामीले देशको संविधान जोगायौँ । लोकतन्त्र जोगाऔँ ।’ सत्तारूढ गठबन्धन प्राकृतिक र स्वाभाविक रहेको उनको भनाइ छ ।

सुझावित समाचार