‘लाइभ पब्लिक डिबेट’का लागि देउवालाई ओलीको प्रस्ताव

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

हामी काममा विश्वास गर्छौँ, तर डिबेट पनि स्विकार्छौँ : कांग्रेस

एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको आमनिर्वाचनलाई एजेन्डाकेन्द्रित खुला प्रत्यक्ष बहसमा लैजान प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार एजेन्डाकेन्द्रित खुला बहसका लागि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै ओलीले चुनावमा ‘प्रत्यक्ष पब्लिक डिबेट’ अगाडि बढाउन प्रस्ताव गरेका हुन् । एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुुत गरेको छ । 

विशेषत : पश्चिमा मुलुकहरूमा निर्वाचनका समयमा चुनावकेन्द्रित त्यस्तो खुला ‘ग्रेट डिबेट’को अभ्यास रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ओलीले त्यसका लागि आफू जुनसुकै वेला देउवासहित गठबन्धनका शीर्ष नेताहरूसँग प्रत्यक्ष बहस गर्न तयार रहेको जनाउ दिएका छन् । ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेका’का सभापति शेरबहादुर देउवाजी बीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ’ बहसका लागि चुनौतीसमेत दिँदै ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

आसन्न निर्वाचनमा कांग्रेस र एमाले नेतृत्वमा भिन्दाभिन्दै गठबन्धन बनेका छन् । प्रधानमन्त्री देउवाले पाँचदलीय सत्तारूढ गठबन्धनको र ओलीले विपक्षी मोर्चाको नेतृत्व गरेका छन् । कांग्रेसले नेतृत्व गरिरहेको सत्तारूढ गठबन्धन र एमालेले नेतृत्व गरिरहेको विपक्षी मोर्चाबीचको अहिलेको दुई ध्रुवीय चुनावी प्रतिस्पर्धामा ‘प्रत्यक्ष लाइभ डिबेट’ले मतदातालाई छनोट गर्न सजिलो हुने एमाले नेताहरूको बुझाइ छ । गठजोडबाट गरिने चुनावभन्दा एजेन्डा र मुद्दामा आधारित भएर ‘लाइभ डिबेट’मार्फत गरिने चुनाव जनताले स्वविवेकमा सही नीति, एजेन्डा र नेतृत्व छनोट गर्न सक्ने भएकाले ओलीले त्यस्तो प्रस्ताव अगाडि सारेको उपमहासचिव विष्णु रिमालले बताए ।

‘मुख्य कुरा एजेन्डा र मुद्दाकेन्द्रित चुनाव हुनुपर्छ भन्नेतिर हाम्रो जोड हो, जुन कुरा अहिलेजस्तो गठजोडबाट टुंगो लाग्दैन, त्यसैले सही नीति, एजेन्डा, नेतृत्व र गन्तव्य छनोट गरेर स्वविवेकमा जनताले मत हाल्न पाउनुपर्छ’ रिमालले भने, ‘त्यसरी प्रत्यक्ष डिबेट गर्दा जनताले एमाले ठीक लागेमा एमालेलाई, कांग्रेस नेतृत्वको गठबन्धन वा कांग्रेस ठीक लागेमा स्वविवेकबाट सही छनोटसहित उतै मत हाल्न पाउनेछन् ।’

मुलुक अहिले एमाले र कांग्रेसले नेतृत्व गरिरहेको दुईवटा शक्तिमा ध्रुवीकृत भएकाले पनि दुई धारमा बाँडिएको राजनीतिक शक्तिहरूबीच एजेन्डाकेन्द्रित प्रत्यक्ष खुला बहस आवश्यक रहेको निष्कर्षमा आफ्नो पार्टी पुगेको पनि उनले प्रस्ट्याए । 

चुनावी एजेन्डामा केन्द्रित भएर प्रधानमन्त्री देउवासँग खुला प्रत्यक्ष बहस गर्ने ओलीको प्रस्तावप्रति कांग्रेस सकारात्मक देखिएको छ । तर, काम नगरे पनि कुरामा जित्न सकिन्छ भन्ने आशयले ओलीको प्रस्ताव आएकाले त्यसलाई महत्व नदिइएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

‘प्रधानमन्त्री, हाम्रो पार्टी सभापति काममा विश्वास गर्नुहुन्छ । तर, उहाँ(ओलीजी) कुरामा विश्वास गर्नुहुन्छ । त्यसैले कुराले जित्छु भन्ने ठान्नुभएको पनि होला । तर, भोलिका दिनमा गर्ने काम नै निर्वाचनमा जाने हाम्रा आधार हुन्’, महतले भने, ‘कुरा त उहाँले हिजोका दिनमा पनि गर्नुहुन्थ्यो, तर परिणाम शून्यजस्तै देखियो । ओलीजीले कुरा गर्न केही पनि बाँकी छ जस्तो लाग्दैन । खुला बहसै गर्ने हो भने पनि उहाँले कुरा नै गर्ने हो । काम त के देखिएको छ र ? प्रधानमन्त्रीलाई मैले सोधेको छैन, तर डिबेट गर्नुहुँदैन भन्ने छैन । डिबेट आफ्नो ठाउँमा छ, तर हामी काममा विश्वास गर्छौँ, कामबाटै देखाउँछौँ । तर, पनि गठबन्धन र कांग्रेसले डिबेटलाई स्विकार्छ ।’

सुझावित समाचार