मनाङमा सबैभन्दा कम मतदाता, रामेछापमा धेरै : हैसियत समान, मतमा भारी अन्तर

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका एक सय ६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको अधिकार र हैसियत समान हुन्छ । तर, निर्वाचित हुन पाउने मतमा भने केही क्षेत्रमा भारी अन्तर छ । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ हो भने धेरै मतदाता रामेछापमा छन् । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाताबाट प्रतिनिधिसभा सदस्य चयन हु“दा रामेछापमा एक लाख ८० हजार एक सय ६ मतदाताले आफ्नो प्रतिनिधि चुन्छन् । 

०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । ०७४ को चुनावमा रामेछापमा माओवादीका श्यामकुमार श्रेष्ठ ४२ हजार एक सय १७ मतसहित विजयी हुँदा कांग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार सात सय ७१ मत पाएका थिए । 

आयोगको विवरणअनुसार ६० हजारभन्दा कम मतदाता रहेका १० निर्वाचन क्षेत्र छन् भने डेढ लाखभन्दा धेरै मतदाता रहेका १३ निर्वाचन क्षेत्र छन् । कम मतदाता रहेका निर्वाचन क्षेत्र मनाङसँगै मुस्ताङ, डोल्पा, हुम्ला, रुकुम पूर्व, मुगु, रसुवा छन् । काठमाडौं १, ३ र ८ पनि कम मतदाता रहेका क्षेत्र हुन् । रामेछाप, अर्घाखाँची, बर्दिया १ र २, दोलखा, सल्यान, प्युठान, काभ्रे १ र २, झापा , मकवानपुर १ र २ तथा बैतडी भने डेढ लाखभन्दा धेरै मतदाता रहेका निर्वाचन क्षेत्र हुन् 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल यस विषयमा आयोगले केही गर्न नसक्ने बताउँछन् । ‘एउटा जिल्लालाई एउटा निर्वाचन क्षेत्रबाट घटाउन मिल्दैन । त्यही भएर मनाङमा थोरै मतदाता देखिएका हुन् । निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन,’ उनले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एकपटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ । सोहीअनुसार निर्धारण भएका हुन्, यसमा आयोगले केही पनि गर्न सक्दैन ।’

शालिग्राम शर्मा पौडेल, प्रवक्ता निर्वाचन आयोग
एउटा जिल्लालाई एउटा निर्वाचन क्षेत्रबाट घटाउन मिल्दैन । त्यही भएर मनाङमा थोरै मतदाता देखिएका हुन् । निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एकपटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ । सोहीअनुसार निर्धारण भएका हुन्, यसमा आयोगले केही पनि गर्न सक्दैन ।

पाँच वर्षमा २५ लाख ६० हजार ६ सय ३२ मतदाता थपिएका छन् । आसन्न ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम भएका हुन् । जसमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य मतदाता रहेका छन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता कायम रहेकामा दुई लाख ५४ हजार आठ सय ४७ थप भएका हन् । ०७४ को निर्वाचनमा मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ रहेको थियो ।

आयोगले निर्वाचनको अघिल्लो दिनलाई ‘कट अफ डेट’ मानेर मतदाता नामावली टुंग्याएको हो । यो संख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगले मतदानस्थल तथा मतदान केन्द्रको अन्तिम संख्या पनि टुंग्याएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

कम मतदाता रहेका १० निर्वाचन क्षेत्र 
सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ मतदातामध्ये तीन हजार दुई सय १८ पुरुष र तीन हजार चार सय ९८ महिला मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यहाँ २८ मतदान केन्द्र रहेका छन् । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकप्रसाद गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । 

कम मतदाता रहेका निर्वाचन क्षेत्र मुस्ताङ पनि हो । १० हजार नौ सय ५७ मतदाता रहेका मुस्ताङमा एमालेका प्रेम तुलाचन र कांग्रेसका योगेश गौचन थकाली मुख्य प्रतिस्पर्धी हुन् । डोल्पामा २२ हजार सात सय ७४ मतदाता मात्र रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पाबाट एमालेका गणेशबहादुर शाही र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनबहादुर बुढामगर चुनावी मैदानमा छन् ।

हुम्लामा एमालेका दल रावल र माओवादीका छिरिङ डम्डोल लामा चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जम्मा ३२ हजार आठ सय ५७ मतदाता रहेका छन् । रुकुम पूर्व पनि कम मतदाता रहेको निर्वाचन क्षेत्र हो । आयोगका अनुसार यहाँ ३४ हजार एक सय १२ मतदाता रहेका छन् । रुकुम पूर्वमा प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका कैलाशकुमार मल्ल र माओवादीका पूर्णबहादुर घर्तीमगरसहितका प्रतिस्पर्धी छन् ।

मुगुमा ३५ हजार चार सय ८५ मतदाता कायम भएका छन् । यहाँ कांग्रेसका ऐनबहादुर शाही र एमालेका राजु कार्कीबीच प्रतिस्पर्धा हुने देखिन्छ । कम मतदाता रहेको निर्वाचन क्षेत्र रसुवा पनि हो । यहाँ ३९ हजार चार सय ५९ मतदाता रहेका छन् । रसुवाबाट एमालेका छेवाङ तेन्जेन तामाङ र कांग्रेसका मोहन आचार्य संसदीय चुनावी मैदानमा छन् ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंका तीनवटा क्षेत्रमा कम मतदाता रहेका छन् । काठमाडौं १ मा ४५ हजार १८ मतदाता मात्र छन् । यहाँ एमालेका किरण पौडेल, कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल र स्वतन्त्रबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेका शिवसुन्दर राजवैद्य, राप्रपाका प्रकाश रिमाल उम्मेदवार रहेको काठमाडौं ८ मा पनि मतदाता कम रहेका छन् । यहाँ कुल ५३ हजार एक सय ६ मतदाता मात्र रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कम मतदाता रहेको क्षेत्र काठमाडौं ३ पनि हो । ५८ हजार आठ सय ८९ मतदाता रहेको काठमाडौं ३ मा एमालेका कृष्ण राई र कांग्रेसका सन्तोष चालिसेसहितका उम्मेदवार छन् ।

डेढ लाखभन्दा धेरै मतदाता रहेका क्षेत्र १३, सबैभन्दा बढी रामेछापमा
एक सय ६५ निर्वाचन क्षेत्रमा १० हजारभन्दा कम मतदाता रहेका निर्वाचन क्षेत्र त छन् नै एक लाख ८० हजारभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र पनि यहीँ छ । एक लाख ५० हजारभन्दा धेरै मतदाता रहेका निर्वाचन क्षेत्र १३ वटा रहेका छन् । जसमा रामेछाप, अर्घाखाँची, बर्दिया १ र २, दोलखा १, सल्यान १,प्युठान १, काभ्रे १ र २, झापा ५, मकवानपुर १ र २ तथा बैतडी १ रहेका छन् । 

आयोगका अनुसार रामेछापमा एक लाख ८० हजार एक सय ६ मतदाता रहेका छन् । यो सबैभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र हो । आयोगले सार्वजनिक गरेको विवरणअनुसार रामेछापमा ९२ हजार ६९ पुरुष र ८८ हजार ३७ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि ९६ मतदानस्थल र दुई सय २६ मतदान केन्द्र तय भएका छन् । रामेछापमा एमालेका कैलाश ढुंगेल र कांग्रेसका पूर्णबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदै छ ।

हेभिवेट प्रतिस्पर्धा रहेको अर्घाखाँचीमा पनि मतदाताको संख्या एक लाख ६४ हजार सात सय ६८ रहेको छ । धेरै मतदाता हुने अर्घाखाँची दोस्रोमा पर्छ । यहाँ एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका पुष्पा भुसाल चुनावी मैदानमा छन् । राप्रपाका होमनारायण बेल्बासे पनि उम्मेदवार छन् ।

बर्दिया १ र २ मा पनि डेढ लाखभन्दा धेरै मतदाता रहेका छन् । एक लाख ६२ हजार मतदाता रहेका बर्दिया १ मा एमालेका लक्ष्मणराज ज्ञवाली, कांग्रेसका सञ्जय गौतम, नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारूलगायत प्रतिस्पर्धी छन् । बर्दिया २ मा एक लाख ५२ हजार ६ सय २२ मतदाता कायम भएका छन् । यहाँ माओवादीका सुरेश पन्थ र एमालेका पंकजसिंह राठौर प्रतिस्पर्धामा छन् । 

दोलखा १ मा एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका छन् । यहाँ एमालेका बालकृष्ण सिवाकोटी र माओवादीका गंगा कार्कीसहितका नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।सल्यान पनि धेरै मतदाता रहेको निर्वाचन क्षेत्र हो । एक लाख ५७ हजार सात सय एक मतदाता रहेको सल्यानमा एमालेका गुलाबजंग शाह र एकीकृत समाजवादीका प्रकाश ज्वाला चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सूर्य थापा र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल मुख्य प्रतिस्पर्धी रहेको प्युठानमा एक लाख ५९ हजार सात सय ६० मतदाता रहेका छन् ।

काभ्रेका दुवै निर्वाचन क्षेत्रमा डेढ लाखभन्दा धेरै मतदाता छन् । काभ्रे २ मा एक लाख ६७ हजार चार सय ४२ र १ मा एक लाख ५२ हजार ६ सय २१ मतदाता रहेका छन् । काभ्रे १ बाट एमालेका रेशमबहादुर लामा र माओवादीका सूर्यमान दोङ तथा २ बाट एमालेका गोकुल बाँस्कोटा र कांग्रेसका शिवप्रसाद हुमागाईं मुख्य प्रतिस्पर्धी हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा ५ पनि धेरै मतदाता रहेका क्षेत्र हो । एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको झापा ५ मा ओलीसँगै कांग्रेसका खगेन्द्र अधिकारीसहितका उम्मेदवार छन् ।

मकवानपुरका पनि दुवै निर्वाचन क्षेत्रमा डेढ लाखभन्दा धेरै मतदाता रहेका छन् । मकवानपुर १ मा एक लाख ५० हजार एक सय ५५ र २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । मकवानपुर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको सूर्य चिह्न लिएर उठेका छन् । मकवानपुर २ मा एकीकृत समाजवादीका विरोध खतिवडा र एमालेका महेश बर्ताैलाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । बैतडी पनि धेरै मतदाता रहेको निर्वाचन क्षेत्र हो । एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको बैतडीमा एमालेका दामोदर भण्डारी, माओवादीका नरेन्द्र कुँवर र राप्रपाका देवबहादुर चन्द चुनावी मैदानमा छन् ।

See More On

सुझावित समाचार