अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा ९ र सामान्यमा ८ सुरक्षाकर्मी खटाउने तयारी

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण
अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा ९ र सामान्यमा ८ सुरक्षाकर्मी खटाउने तयारी

फाइल तस्बिर : नयाँ पत्रिका

४३% म्यादी तराईका २० जिल्लामा खटाइने

यसरी खटिनेछन् निर्वाचनमा म्यादी र नेपाल प्रहरी

सामान्य निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ५

संवेदनशील निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ६

अतिसंवेदनशील निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ९

नेपाल प्रहरीले निर्वाचनस्थलको सुरक्षा संवेदनशीलताका आधारमा आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने भएको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा नौ र सामान्यमा आठजना सुरक्षाकर्मी खटाउने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार मुलुकभर १० हजार ८९२ निर्वाचनस्थल तोकिएका छन् । यी निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । जसअनुसार तीन हजार ४१२ स्थल अतिसंवेदनशील सूचीभित्र परेका छन् । यी निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका ३ र म्यादी ९ गरी १२ जना सुरक्षाकर्मी खटिनेछन् । 

चार हजार ४२० स्थल संवेदनशील सूचीभित्र परेका छन् । उक्त स्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । त्यस्तै, तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । उक्त स्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठजना सुरक्षाकर्मी खटिनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले मुलुभरका निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको र सोही आधारमा नेपाल प्रहरी र म्यादी प्रहरीका सुरक्षाकर्मी खटाउने तयारी भएको बताए । उनले भने, ‘मुलुकभर १० हजार आठ सयभन्दा धेरै निर्वाचनस्थल निर्धारण गरिएका छन् । सुरक्षा संवेदनशीलताका आधारमा हामीले त्यसलाई तीन खण्डमा विभाजन गरेका छौँ । सोही आधारलाई विश्लेषण गरेर नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारीमा नेपाल प्रहरी जुटेको छ ।’

०७४ को निर्वाचनमा जस्तो अहिले मुलुकमा सशस्त्र समूहका गतिविधि क्रियाशील छैन । ०७४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको समूहले आफ्ना सशस्त्र गतिविधि तीव्र बनाएका थिए । तर, यसपटक दुवै समूह शान्तिपूर्ण बाटोमा अवतरण भइसकेका छन् । सरकारले यसपालि यस्ता समूहको खतरा नदेखे पनि अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्यलाई सुरक्षा चुनौती ठानेको छ । त्यसबाहेक विगत चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमि, निर्वाचनप्रति जनताको धारणालगायतका विषयलाई पनि सरकारले सुरक्षा चुनौती ठानेको छ । सोही आधारमा मुलुकभरका निर्वाचनस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा वर्गीकरण गरेको नेपाल प्रहरीको भनाइ छ । 

नेपाल प्रहरीका डिआइजी टेकप्रसाद राईले भने, ‘निर्वाचनमा सुरक्षा थ्रेटका केही ‘पारामिटर’ हामीले बनाएका छौँ । सोही आधारमा निर्वाचनस्थल तीन खण्डमा वर्गीकरण भएका हुन् । यसमा अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्य, चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमिलाई हामीले आधार बनाएका छौँ ।’

४३% म्यादी तराईका २० जिल्लामा खटाइने
 

सरकारले तराईका करिब २० जिल्लालाई सुरक्षा संवेदनशीलताका आधारमा उच्च प्राथमिकतामा राखेको छ । भर्ना गरिएका कुलमध्ये ४३.७० प्रतिशत म्यादी ती जिल्लामा खटाउने नेपाल प्रहरीको तयारी छ । जसमध्ये सबैभन्दा धेरै मोरङमा खटिनेछन् ।

तथ्यांकअनुसार मोरङमा तीन हजार ६१६ म्यादी प्रहरी खटिनेछन् । त्यसपछि धनुषामा तीन हजार ४८६, झापामा तीन हजार ४९०, सर्लाहीमा तीन हजार ३०७, सप्तरीमा तीन हजार दुई ७८, बारामा तीन हजार १४४ र रुपन्देहीमा तीन हजार ९५ म्यादी प्रहरी खटिनेछन् । त्यसबाहेक काठमाडौंमा पनि धेरै म्यादी प्रहरी खटिनेछन् । तथ्यांकअनुसार काठमाडौंमा तीन हजार २७९ म्यादी प्रहरी खटाउने तयारी छ । 

सुझावित समाचार