शरणार्थी शिविरमा दर्ता छ, नाता प्रमाणित गर्न मान्दैनन् शिविर प्रमुख

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण
शरणार्थी शिविरमा दर्ता छ, नाता प्रमाणित गर्न मान्दैनन् शिविर प्रमुख

हजुरबुवा–हजुरआमासँग भुटानी शरणार्थी बालिका आर्या तितुङ ।

भुटानी शरणार्थी शिविर बेलडाँगीकी आर्या तितुङ (वर्ष ६)का बुबा वीरबहादुर पुनर्वास भएर अमेरिका पुगे। आमा अर्कैसँग विवाह गरेर गइन्। आमा भुटानी शरणार्थी होइनन्। वीरबहादुर तेस्रो देशका लागि प्रक्रियामा हुँदा सन् २०१५ मा उनले विवाह गरेका थिए। प्रक्रिया रोकिने भएपछि आमाबुबाले विवाह दर्ता गरेनन्। बुबा अमेरिका पुगेको पाँच महिनामा आर्या जन्मिइन्।

आर्या जन्मिएको तीन वर्षमा उनकी आमाले शिविरमै अर्को विवाह गरिन्। आर्या अहिले शिविरमै छिन्। उनलाई शरणार्थी समन्वय एकाइ झापाले सन् २०१७ मा शरणार्थीको रूपमा दर्ता गर्‍याे। उनको दर्ता प्रमाणपत्रमा बुबा वीरबहादुरकै नाम राखिएको छ। तर, अहिले शिविर प्रमुख गुरुप्रसाद भट्टराईले बुबाछोरीको नाता प्रमाणित गरिदिन भने मानेका छैनन्। जसका कारण बुबासँगै अमेरिका जानबाट उनी रोकिएकी छिन्। विजोग अवस्थामा उनी शिविरमै बसिरहेकी छिन्। उनको परिवारले अमेरिकाबाट शिक्षा, स्वास्थ्य त हेरिरहेको छ, तर अभिभावक चाहिने वेला उनी अभिभावकविहीन छिन्। अभिभावकविहीन भएपछि आर्याका हजुरबुबा धनबहादुर र हजुरआमा मनमाया अमेरिकाबाट अढाइ महिनाअघि नेपाल आएका छन्।

नातिनीलाई स्पोन्सरमा लैजान उनीहरू भौँतारिरहेका छन्। दुई महिनाका लागि आएका उनीहरूको समय सकिएपछि १७ सय डलर तिरेर थप २० दिन भिसा थपेर बसेका छन्। तर, नातिनीको कागजात बन्ने कुनै टुंगो छैन। शिविर प्रमुखले नाता प्रमाणित नगरिदिँदा नातिनीलाई लैजाने सम्भावना घट्दै गएको छ। आर्यालाई लैजाने प्रक्रिया थालनी गर्न जन्मदर्ता गर्नुपर्छ। दमक– ३ नम्बर वडाले बेलडाँगीमा जन्मिएका सबै भुटानी शरणार्थीको जन्मदर्ता गरिदिँदै आएको छ। शिविर प्रमुखले आर्या र उनका बुबा वीरबहादुरको नाता प्रमाणित गरिदिए वडा कार्यालयले जन्मदर्ता बनाइदिने वचन दिएको छ।

‘उसको बुबाले तान्ने हो। त्यसका लागि जन्मदर्ता बनाउनुपर्छ। दमक– ३ नम्बर वडा कार्यालयले शिविर प्रमुखले वीरबहादुर र आर्या बुबाछोरी हुन् भनेर नाता प्रमाणित गरिदिए जन्मदर्ता बनाइदिन्छौँ भनेका छन्,’ हजुरआमा मनमाया भन्छिन्, ‘तर, शिविर प्रमुखले म बुझ्छु भनेर बनाइदिँदैनन्। जानेवेला भइसक्यो, काम नै भएन।’ खर्च बुबा र हजुरबुबाहरूले हेरे पनि अभिभावकत्व नपाउँदा आर्या शिविरमा एक्लै भएको मनमाया बताउँछिन्। ‘नातिनी एक्लै भएकी छ। उसको अवस्था निकै विजोग छ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘यस्तो अवस्थामा मैले कसरी छाडेर जाने ? जाने वेला भइसक्यो । मनमा छटपटी बढ्दै छ।’

उनीहरूसँग आर्याको भुटानी शरणार्थी दर्ता कार्ड, रासनकार्ड, शरणार्थी शिवर प्रमुख र शिविर व्यवस्थापन सचिवले दिएको जन्मदर्ता छ। ती सबै डकुमेन्टमा बुबा वीरबहादुरको नाम छ । तैपनि नाता प्रमाणित नगरिदिएको परिवारको गुनासो छ।

जिल्ला प्रशासन झापाले भने बुबाआमाको विवाह दर्ता नभएकाले रोकिएको जनाएको छ। ‘त्यसवेलामा उनका बुबाले श्रीमती र नानी देखाएनछन्। अहिले युएनएचसिआरले लिन मानेको छैन,’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले भने, ‘युएनएचसिआरले अस्वीकार गरेपछि नाता प्रमाणित गर्न सकिएन भनेर शिविर प्रमुखले भन्नुभएको छ।’

आमाबुबा नै शरणार्थी, सम्बन्धविच्छेदपछि छोराले पाएनन् परिचयपत्र
भुटानी शरणार्थी शिविर बेलडाँगीका दीपेन शर्मा (१९ वर्ष)का बुबा लोकप्रसाद र आमा शिवमायाबीच सम्बन्धविच्छेद भइसक्यो। बुबा अर्कै विवाह गरेर पुनर्वास भइसके। दीपेनको भुटानी शरणार्थी परिचयपत्र बनाउने उमेर पुग्यो। उनका आमाबुबा दुवै शरणार्थी हुन्। उनको पनि शिविरमा दर्ता छ। शिविर प्रमुखले बनाइदिएको जन्मदर्ता पनि छ। तर, अहिलेका शिविर प्रमुख भट्टराईले भुटानी शरणार्थी परिचयपत्रका लागि फोटो खिच्न मानेनन्। जसका कारण उनी शरणार्थी परिचयपत्र पाउनबाट वञ्चित भएका छन्।

भुटानी शरणार्थी शिविर बेल्डाँगीका दिपेन शर्मा ।

‘बुबाआमाले डिभोर्स गर्नुभयो। अहिले म आमासँग बस्छु। शरणार्थी दर्तापत्रमा बुबासँगै मेरो नाम पनि छ। तर, मैले शरणार्थी परिचयपत्र पाइनँ,’ उनी भन्छन्, ‘शरणार्थी परिचयपत्रका लागि अहिले फोटो खिच्दै छ। तर, मलाई दिएनन्।’ शिविर प्रमुखले परिचयपत्रका लागि उनीसँग बुबाको परिचयपत्र माग्छन्। तर, बुबा दोस्रो विवाह गरेर पुनर्वास भइसकेका छन् । ‘बुबासँग सम्पर्क पनि छैन। मैले कसरी परिचयपत्र ल्याउने ?’ उनी भन्छन्, ‘लगबुकमा मेरो फोटो पनि छ। तर, त्यो लगबुक हेर्न पनि दिँदैनन्।’

सहायक प्रजिअ न्यौपानेले शरणार्थीका यस्ता गुनासा आइरहेको बताए। उनले आफू क्याम्पमै गएर समस्याबारे बुझ्ने बताए। ‘म आफैँ क्याम्पमा गएर बुझ्छु। कानुनले केसम्म गर्न सकिने रहेछ म गर्छु,’ उनले नयाँ पत्रिकासँग भने।
 

सुझावित समाचार