कञ्चनपुरमा सत्तागठबन्धन राजनीतिक दलको बैठक सम्पन्न भएको छ। आइतबार सत्तागठबन्धन चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित दलको बैठक सम्पन्न भएको हो।
बैठकले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रमा भएको निर्णयअनुरूप जिल्लामा स्वागत गर्ने निर्णय गरेको छ। सत्ताधारी गठबन्धनका दलबीच वाम-लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार जिताउन होमिने सहमति भएको छ।
नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले सत्तागठबन्धन दलबीच एकजुट भई संविधान मिच्नेविरुद्धमा र प्रतिगमन परास्त पार्नका लागि सत्ताधारी गठबन्धनबीच केन्द्रको निर्णय हार्दिकताका साथ स्वागत गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने सहमति भएको बताए।
बैठकमा समाजवादीका तर्फबाट जिल्ला पाटीसचिव हरकसिंह धामीले क्षेत्र २(ख) र ३(क)मा मित्रवत प्रतिस्पर्धा र बाँकी निर्वाचन क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सघाउने बताएका थिए। नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक खेम पाण्डेले सत्ताधारी गठबन्धनबीच जिल्लाभरिका वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने विषयमा एकमत भएको बताए।